२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

खण्डहर बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग सम्झौता तोड्दै संसद् सचिवालय

संघीय संसद् सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद बैठक बस्ने गरी गरेको करार सम्झौता रद्द गर्ने तयारी गरेको छ।  

२०६४ सालको पहिलो संविधान सभादेखि हालसम्म बैठक बस्नका लागि प्रत्येक वर्ष सम्झौता करार सम्झौता हुँदै आएको थियो। अहिले वार्षिक १५ करोड भाडा संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई बुझाउँदै आएको छ।  

जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते भवन सम्पूर्ण रूपमा जलेर नष्ट भएपछि सो दिनदेखि लागू हुने गरी एक पक्षीय रूपमा सम्झौता रद्द गर्न लागिएको हो। गत असार मसान्तसम्म सम्झौता गरिएको भएपनि चालु आर्थिक वर्षका लागि भने सम्झौता थप भएको छैन।  

'थप गर्ने प्रक्रिया हुँदै थियो, भवन सबै जलेर काम नलाग्ने भयो, अब कानुन बमोजिम नै २४ गतेदेखि लागू हुने गरी सम्झौता रद्द गर्न लागेका छौँ,' संसद् सचिवालयका एक अधिकारीले भने। साउन र भदौ २४ गतेसम्मको भाडा संसद् सचिवालयले बुझाउने र त्यसपछि संसद् भवनका लागि अब प्रयोग नगर्ने गरी अघि बढ्ने तयारी सचिवलयको छ।  

अहिले प्रतिनिधिसभा विघटन भएको छ, राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ। तत्काल संसद् भवनको आवश्यकता नपरे पनि अब राष्ट्रिय सभाको अधिवेशन बोलाएमा भने संसद् बैठक बस्ने हलको आवश्यकता पर्दछ। सिंहदरबार भित्र बन्दै गरेको संसद् भवन पुस महिनाभित्र सम्पन्न गर्न अन्तरिम सरकारले दबाब दिइरहेको छ। त्यसबिचमा राष्ट्रियसभा बैठक बस्न लागेमा पुरानो राष्ट्रियसभा हल (हाल विघटित प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक हल)को प्रयोग गर्ने सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने भएमा यो हल प्रयोग हुनेछ। पुसपछि नयाँ संसद् भवनमा राष्ट्रिय सभा बैठक गर्ने  गरी गृहकार्य भइरहेको छ।  

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको यो भवनलाई नेपाल–चीन मैत्रीको एक महत्त्वपूर्ण प्रतीक मानिन्छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नाम पहिले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (विआइसिसि) थियो । चीनद्वारा निःशुल्क निर्मित, विआइसिसिको औपचारिक रूपमा सन् १९९३ मा अर्थात् विसं २०५० सालमा उद्घाटन गरिएको थियो। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आधुनिक शैलीको भव्य भवन हो। यसमा ठुलो प्रधान सभा हल छ, जसको क्षमता १ हजार ४६ सिटको छ। यहाँ विभिन्न बैठक कोठा, कक्षाहरू, कार्यालय कक्ष, अतिथि स्वागत हल र प्रेस कक्षको व्यवस्था छ। यस परिसरमा ४ सयभन्दा बढी सवारी साधन अटाउने पार्किङ सुविधा छ। भवनलाई उच्चस्तरको ध्वनि प्रणाली, प्रकाश व्यवस्थापन, तथा अनुवाद प्रविधिले सुसज्जित गरिएको छ।  

२०७२ सालको भूकम्प पछि यो भवनलाई पुनर्निर्माण गर्नुपर्ने अवस्था थियो । चिनियाँ एक टोलीले अध्ययन गरेर पनि गएको थियो । संसद्को नयाँ भवन बनेपछि मात्र यसको पुनर्निर्माण गर्ने तयारी थियो । तर गत भदौं २४ गते भवन ध्वस्त बनेको छ । 

प्रकाशित: २३ आश्विन २०८२ १९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App