२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

संसद् अब पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ: मन्त्री गौतम

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अबको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्न पर्ने बताएकी छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा आफ्नो कुरा राख्दै मन्त्री गौतमले संसदले जनताको मुद्दामा केन्द्रित भएर परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् ।  

उनले संसद् बैठकमा सम्बोधन गर्दै भनिन्, ‘यसपटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ । यो संसद जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नैपर्छ। यहाँ नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति छ। जसले मिलेर संसदलाई अझ परिपक्व बनाउन सक्छ। तर हामीले बुझ्नैपर्छ कि लोकतन्त्र केवल भाषण र बहसले होइन, परिणामले बलियो हुन्छ।’

मन्त्री गौतमले संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्नुपर्ने पनि बताएकी छन् । उनले भनिन्, ‘संसदमा स्वस्थ बहस आवश्यक छ । तर बहस केवल बहसमै सीमित रह्यो भने यसले जनताको विश्वास कमजोर बनाउँछ। त्यसैले यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्न सकोस्।’

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई बधाई दिँदै उनले सदनले ठूलो भरोसा राखेको बताइन । यो भरोसालाई सभामुखले संस्थागत गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।  

अब गर्नुपर्ने काम धेरै रहेको बताउँदै उनले भनिन्, ‘संविधान जारी भएको वर्षौं बितिसक्दा पनि अझै धेरै कानुनहरू निर्माण हुन बाँकी छन्। कानुनी आधारको अभावकै कारण जनताले पाउनुपर्ने सेवा सहज रूपमा प्राप्त गर्न सकेका छैनन्, र यो केवल प्रशासनिक कमजोरी मात्र होइन, विगतका संसदहरूको अपूर्ण दायित्वको परिणाम पनि हो। त्यसैले यसपटकको संसदको स्पष्ट जिम्मेवारी छ-कानुनी रिक्तता अन्त्य गर्ने, शासनलाई प्रभावकारी बनाउने र सरकारलाई जवाफदेहिताको कसीमा राख्ने। अब ढिलाइको संस्कार तोड्नैपर्छ, निर्णय गर्ने साहस देखाउनैपर्छ र काम गर्ने संसदको पहिचान स्थापित गर्नैपर्छ। र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले म सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रियालाई तीव्रता दिने दृढ प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रकाशित: २२ चैत्र २०८२ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App