२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

संसद् ‘बस्नुस–उठ्नुस’ प्रतियोगिता जस्तो बन्यो: सभामुखले बस्नुस् मात्र भन्ने ?

प्रतिनिधिसभा सदस्य राजीव खत्रीले संसद्को कार्यशैलीमाथि व्यंग्य गर्दै बैठक सञ्चालनमा ठूलो खर्च भए पनि उपलब्धि भने शून्यजस्तै हुने गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले संसद् बैठकमा सहभागी सांसदका लागि गाडी भाडा र भत्ता शीर्षकमा प्रतिव्यक्ति दुई हजार रुपैयाँ छुट्याइने गरेको उल्लेख गरेका छन्। उनका अनुसार २ सय ७५ सांसदको हिसाब गर्दा एकै दिनमा मात्रै ५ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको छ।

खत्रीले हाजिर जनाएपछि बैठकमा बसे पनि वा बाहिरिए पनि रकम उस्तै हुने भन्दै लोकतन्त्रमा ‘उपस्थिति नै मुख्य उपलब्धि’ जस्तो देखिएको टिप्पणी गरेका छन्।

उनले संसद् सञ्चालनका क्रममा कार्यव्यवस्था परामर्श समितिको बैठक, चिया–पानी, कागज, माइक, प्रत्यक्ष प्रसारण, सुरक्षा, सरसफाइ, प्रविधि परीक्षण र कर्मचारी परिचालनलगायत शीर्षक जोड्दा एक दिनको खर्च कम्तीमा ७ लाख रुपैयाँ पुग्ने दाबी गरेका छन्। तर उपलब्धि भने कतिपय दिन ‘शून्यकाल मात्रै होइन, पूरा दिनै शून्य उपलब्धिमा सकिने’ उनको भनाइ छ।

सांसद खत्रीले संसद् जनताको मुद्दा समाधान गर्ने थलोभन्दा ‘बस्नुस–उठ्नुस राष्ट्रिय प्रतियोगिता’ जस्तो देखिन थालेको कटाक्ष गरेका छन्। सभामुखको धेरै समय ‘माननीयज्यू बस्नुस’ र ‘कार्यसूची अघि बढाऔँ’ भन्नमै खर्च हुने उनको टिप्पणी छ।

उनले व्यंग्यात्मक शैलीमा पाँच वर्षपछि संसद्को सबैभन्दा ठूलो उपलब्धि ‘बस्नुस’ शब्दको राष्ट्रिय अभिलेख बन्न सक्ने उल्लेख गरेका छन्।

खत्रीले संसद्मा पुरानै ‘हाटा’ अर्थात् ‘हाजिर गरेर टाप ठोक्ने’ संस्कृति अहिले नयाँ स्वरूपमा देखिएको पनि बताएका छन्। उनका अनुसार अहिले ‘विरोध गरेर बाहिरिने’ प्रवृत्ति बढेको छ, जहाँ सांसदहरू सदनभित्र बसेर विधेयकमाथि छलफल गर्नुभन्दा बाहिरिएर क्यामेरा अगाडि आफूलाई जनताको पक्षमा संघर्षरत देखाउन रुचाउने गरेका छन्।

उनले जनताले अझै पनि ‘संसद् चलिरहेको हो कि रिहर्सल भइरहेको हो ?’ भन्ने प्रश्न गरिरहेको उल्लेख गरेका छन्।

 

प्रकाशित: १४ जेष्ठ २०८३ १८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App