नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई नियन्त्रणबाहिरको ‘बेलगाम छाडा तन्त्र’ मा चलाउनका लागि असंवैधानिक रूपमा संसद् भंग गरिएको बताएका छन्।
भक्तपुरको गुण्डुस्थित निवासमा पार्टीका नेता-कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले राज्यका अंगहरूमाथि लगाम लगाउने संस्था (संसद्) नै मासिदिएपछि देश छाडा अवस्थामा पुगेको बताएका हुन्।
अध्यक्ष ओलीले संसद्ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश लगायत सबैलाई नियन्त्रणमा राख्ने गरेको तर त्यसलाई नै समाप्त पारेर देशलाई छाडा छोड्ने षड्यन्त्र भएको दाबी गरेका छन्।
‘त्यो संस्था नै मासिदिएपछि त अब लगाममा राख्ने केही पनि छैन, कोही पनि छैन,’ ओलीले भनेका छन्, ‘त्यसकारण यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडा तन्त्रमा चलाउनका लागि।’
उनले सिफारिस गर्ने हैसियत नभएकाहरूले गरेको सिफारिस र संविधानमा कुनै धारा नभएको अवस्थामा राष्ट्रपतिले संसद् भंग गरेको भन्दै उक्त कदमको आलोचना गरे।
‘सिफारिस गर्ने हैसियत नै नभएकाहरुले सिफारिस गर्या छन् र संविधानमा कुनै धारा केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भंग गर्नुभएको छ, गर्नुहुँदैनथ्यो,’ उनको भनाइ छ।
साथै, अध्यक्ष ओलीले असंवैधानिक कदमविरुद्ध आफ्नो पार्टीले देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन्।
उनले आगामी मंसिर २२ गते वडा-वडामा, २५ गते पालिका स्तरमा र २९ गते जिल्ला स्तरमा सशक्त प्रदर्शन गर्न निर्देशन दिएका छन्। त्यसैगरी,मंसिर ६ गते काठमाडौंमा विशाल प्रदर्शनको तयारी भइरहेको उनले जानकारी दिए।
‘६ गते काठमाडौंमा हामीले एउटा विशाल सशक्त प्रदर्शन गर्दैछौँ,’ उनले भने, ‘मान्छे कोही लाए, सेलाए, के भए, डराए भन्ने त्यो हो पनि, तर एमाले छ नि, यसले सबलाई पानी छम्किनुपर्छ, सबलाई उठाउनुपर्छ, सबलाई जगाउनुपर्छ, सबलाई झकझक्याउनुपर्छ र उठाउनुपर्छ।’
प्रकाशित: २० कार्तिक २०८२ १९:४६ बिहीबार





