अभिनेत्री तथा रास्वपा सांसद रीमा विश्वकर्माले २०२६ को कान्स फेस्टिभलमा नेपाल तर्फबाट लगाइएको स्टलमा चलचित्र ‘एलिफेन्टेस इन द फग’ को पोस्टर नराखिएको विषय संसदमा उठाएकी छन्।
अविनाशविक्रम शाह निर्देशित उक्त चलचित्रले कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनौट भएर ‘जुरी’ पुरस्कार जितेको थियो।
बुधबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले स्टलमा पोस्टर नराखिएकोमा आपत्ती जनाइन्।
बोर्डको तयारीमा प्रश्न उठाउदै उनले भनिन्, ‘बोर्डको अधिकारिक स्टलमा पोस्टर समेत राखिएको थिएन। यसले हाम्रो तयारी कस्तो फितलो थियो भन्ने पुष्टि गर्छ।’
उनले सिनेमा, संगीत र साहित्यले सांस्कृतिक कूटनीतिको अवसर दिएको बताइन्। उनले भनिन्–‘अन्तर्राष्ट्रिय मंचमा हाम्रो उपस्थिती सांस्कृतिक रुपमा मात्र होइन। सिनेमा, संगीत र साहित्यले सांस्कृतिक कूटनीतिक सुधारको अवसर पनि दिएका छन्’।
उनले संसदबाट विधेयक पारित भएपछि यसको कार्यान्वयन एक वर्षभित्रै हुनुपर्ने उल्लेख गरेकि छिन्। उनले भनिन्–‘म नै जनप्रतिनिधि बनेर आएको बेलामा चलचित्र विधेयकको स्रैद्धान्तिक छलफल भएको छ। चिन्ता के छ भने, यो विधेयक पारित भएपछि नियमावली बन्न कति समय लाग्ने हो। विधेयक पारित भए लगत्तै यसै वर्षभित्र कार्यान्वयन हुने बनाइयोस्।’
प्रकाशित: १३ जेष्ठ २०८३ १५:५६ बुधबार





