हात हालाहाल र तनावका बीच सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अधिवेशनबाट हरि पन्त सभापतिमा निर्वाचित भएका छन्।
पर्सा जिल्लाका तीन सांसदको समर्थनमा उम्मेदवार बनेका पर्सा–२ का सांसद सुशील साह कानुको समूहलाई ठूलो मतान्तरले पराजित गर्दै पर्सा–१ का सांसद पन्त अध्यक्षमा निर्वाचित भएका हुन्। सभापति पदमा कानुलाई ४८ मतको फराकिलो अन्तरले पराजित गर्दै पन्त निर्वाचित भएका हुन्।
२ सय ८५ प्रतिनिधि सहभागी रहेको मतदान प्रक्रियामा पन्तले १६६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी समूहका कानुले ११८ मत पाएका निर्वाचन समितिले जनाएको छ।
सोमबार बिहान सुरु भई मंगलबार बिहान सम्पन्न रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशनमा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशीलकुमार कानु, क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य एउटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। तीनै जना सांसद प्रतिनिधिसभा निर्वाचनपछि रास्वपामा प्रवेश गरेका थिए।
उपसभापति, सचिव, सहसचिव र सदस्यसहित सबै पदमा पन्त पक्षका उम्मेदवार विजयी भएपछि निर्वाचन परिणामलाई रास्वपा पर्सामा “संस्थापन पक्षको जनमत” का रूपमा व्याख्या गर्न थालिएको छ।
पार्टीभित्रको एक धारले यसलाई नवप्रवेशीहरूको प्रभाव विस्तार गर्ने प्रयासविरुद्ध पुराना कार्यकर्ताको प्रतिवादका रूपमा समेत हेरेको छ।
पछिल्लो समय विभिन्न राजनीतिक दलबाट आएका नेताहरूको सक्रियता बढिरहेका बेला संगठन निर्माणमा सुरुदेखि खटिएका कार्यकर्ताले संस्थापन पक्षको पक्षमा मत जाहेर गरेको विश्लेषण गरिएको छ।
निर्वाचनअघि तीन सांसद एकै ठाउँमा उभिनुलाई पन्तविरुद्धको बलियो शक्ति प्रदर्शनका रूपमा हेरिएको थियो।
तर, तीन सांसदको संयुक्त प्रभावभन्दा संगठनभित्रको कार्यकर्ता पंक्तिको भरोसा बलियो देखिएको टिप्पणी हुन थालेको छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १६:१५ मंगलबार





