२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

ओली लक्षित पाण्डेको टिप्पणी- षड्यन्त्र भयो भन्ने, रोक्न नसक्ने, नेता हुनुको अर्थ के ?

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मुलुकमा राजनीतिक उथलपुथल हुँदा र सरकार ढल्दा केवल देशी–विदेशी षड्यन्त्रलाई दोष दिएर नेतृत्वले आफ्नो कमजोरी ढाकछोप गर्न नमिल्ने बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै पाण्डेले नेपालको भू–राजनीतिक अवस्थितिका कारण षड्यन्त्र हुनु नौलो नभए पनि त्यसलाई बुझ्न र रोक्न नसक्नु नेतृत्वको अक्षमता भएको टिप्पणी गरे।

पछिल्लो राजनीतिक घटनाक्रमलाई धेरैले षड्यन्त्रको रूपमा व्याख्या गरिरहँदा उपाध्यक्ष पाण्डेले भने फरक मत राखे। ‘हाम्रो देश कोतपर्व भएको देश हो, षड्यन्त्र त भइनै रहन्छ। तर षड्यन्त्र हुन्छ भन्ने कुरा बुझ्न सक्ने र त्यसलाई परास्त गर्न सक्ने पो नेतृत्व हुन्छ,’ पाण्डेले भने, ‘षड्यन्त्र भयो भनेर मात्र बस्ने हो भने त्यो नेतृत्वको पूर्ण जिम्मेवारी पूरा भएको मानिँदैन। षड्यन्त्र चिर्न नसक्ने हो भने नेता हुनुको अर्थ के ?’

पाण्डेले भदौ २३ गतेसम्म सरकार र पार्टी नेतृत्वलाई केही थाहा नहुनु तर एक्कासि घटना भएपछि षड्यन्त्र भन्नु विरोधाभासपूर्ण रहेको बताए।

अन्तर्वार्ताका क्रममा उनले तोडफोड र आगजनी गर्नेहरूलाई क्यामेरामा कैद हुँदाहुँदै पनि कारबाही गर्न नसक्नु राज्यको कमजोरी भएको उनको भनाइ थियो।

‘आगजनी र तोडफोड गर्नेहरू भिडियोमा छ्यापछ्याप्ती देखिन्छन्, तर तिनलाई समात्न नसक्ने ?’ उनले प्रश्न गरे, ‘बहादुरीका साथ भिडियो खिचेर सार्वजनिक गर्ने तर कारबाही नगर्ने हो भने दण्डहीनता बढ्छ। गल्ती गर्ने जोसुकै भए पनि उम्किन दिनु हुँदैन।’

पाण्डेले अब हुने महाधिवेशनमा यस्ता कमजोरीहरूको निर्मम समीक्षा हुनुपर्ने र केवल पद बाँडफाँटमा मात्र केन्द्रित हुन नहुनेमा जोड दिए।

प्रकाशित: १७ मंसिर २०८२ २१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App