नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्मित नेसनल भोलेन्टियर फोर्स जनतासँग सुमधुर सम्बन्ध राख्ने अनुशासित दस्ता भएको बताएका छन्।
सोमबार झापामा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै उनले यो फोर्सको मुख्य विशेषता नै नम्र बोली र शिष्ट व्यवहार हुने प्रष्ट पारे।
अध्यक्ष ओलीले यो फोर्स कुनै डरत्रास फैलाउन नभई, ‘चेन अफ कमान्ड’ मा चल्ने र जनताको सेवा गर्ने संगठन भएको दाबी गरे।
ओलीले भने, ‘यो फोर्स अत्यन्तै अनुशासनमा बस्छ। यसले जनतासँगको सम्बन्धलाई अत्यन्तै सुमधुर बनाउँछ। यसको बोलीचाली नरम हुन्छ, मिठो हुन्छ।’
उनले भोलेन्टियर फोर्सका तर्कहरू सत्य, न्याय र शान्तिको पक्षमा हुने भन्दै कसैले यी चिजहरू हरण गर्न खोजे जुनसुकै मूल्य चुकाएर पनि प्रतिवाद गर्ने बताए।
अध्यक्ष ओलीले चुनावमा धाँधली र बुथ कब्जा हुन नदिने चेतावनी दिए। एमाले शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष चुनावको पक्षमा रहेको भन्दै उनले भने, ‘कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ। एमालेले बुथ कब्जा गर्ने कसैलाई छुट दिनेवाला छैन।’
उनले आसन्न निर्वाचनका लागि हरेक मतदान केन्द्र (बुथ) मा कम्तीमा ३० जनाका दरले भोलेन्टियर खटिने जानकारी दिए। गाउँगाउँ र टोलटोलमा सुरक्षा समिति बनाएर अघि बढ्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित: ११ फाल्गुन २०८२ १५:४६ सोमबार





