२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

हाम्रो ‘म्याण्डेड’ नै चुनाव हो, फागुन २१ गते हुन्छ: मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् ।  

नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चरमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको बताए ।  

सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे ।  

यसैगरी, मन्त्री खरेलले फागुन २१ गते निर्वाचन गराउने सन्दर्भमा निर्वाचन आयोगले ‘क्यालेण्डर’ नै तयार गरिसकेको अवस्थामा आवश्यक वातावरण तयारीका लागि नेपाल पत्रकार महासङ्घका तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।  

उनले फरक प्रसङ्गमा  सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्ने भएकाले एकाध घटना घट्दैमा सुरक्षाकर्मीको मनोबल नगिर्ने जिकिर गरे ।  उनले भने, ‘सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्छ, एकाध घटनाले उहाँहरुको मनोबल गिर्दैन र हामीले गिर्ने वातावरण पनि सृजना गर्नुहुँदैन।’

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले फागुन २१ गतेको निर्वाचनका लागि पत्रकार महासङ्घले आवश्यक सहयोगसहित सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाइन ।  

 

प्रकाशित: २६ आश्विन २०८२ २०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App