नेकपा (एमाले)को केन्द्रीय समितिमा उदयपुरबाट एकजना मात्र प्रतिनिधि मञ्जुकुमारी चौधरी छानिएकी छिन् । काठमाडौंमा सम्पन्न पार्टीको ‘एघारौँ राष्ट्रिय महाधिवेशन’बाट चौधरी केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।
चौधरी थारु महिला क्लस्टरबाट चुनावी प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य चयन भएकी हुन् । थारु महिलाको २ जना कोटामध्ये चौधरीले १ हजार ७ सय ४० मत पाउँदै केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनीसँगै थारु महिलाको अर्को कोटामा शान्ता चौधरी विजयी भएकी छिन् । उनलाई १ हजार ६ सय ७५ मत प्राप्त भएको थियो ।
महाधिवेशनबाट अध्यक्षमा तेस्रो कार्यकाल जितेका केपी ओलीको प्यानलबाट उम्मेदवारी दिएकी मञ्जु यसअघिको केन्द्रीय समितिमा पनि पोलिटव्युरो सदस्य थिईन् । उनी यसअघि उदयपुर इन्चार्जसमेतको जिम्मेबारीमा थिईन् । एघारौँ महाधिवेशनमा उदयपुरबाट केन्द्रीय सदस्यमा उनको मात्र उम्मेदवारी परेको थियो ।
०७० को निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित चौधरी ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा शहरी विकास राज्यमन्त्री बनेकी थिईन् । राज्यमन्त्री हुँदा सदरमुकाम गाईघाटमा उनले दुईवटा ‘मेघा प्रोजेक्टर’हरु परेकी थिईन् । अत्याधुनिक त्रियुगा बसपार्क र १ हजार ५ सयजना अँट्ने ठूलो र ४ सय ६० जना क्षमताको सानो हल भएको ‘मदन भण्डारी स्मृति सभाभवन’ निर्माणाधीन अवस्थामा छन् ।
०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र १ बाट चुनाव लडेकी चौधरी दुवै पटक नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काद्वारा पराजित भएकी थिईन् ।
प्रकाशित: ३ पुस २०८२ १९:५० बिहीबार





