८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा १३ मध्ये १० उम्मेदवारले मात्र खर्च विवरण बुझाए, एक जनाको मात्रै सार्वजनिक

ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका १३ उम्मेदवारमध्ये १० जनाले मात्र चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्। जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार अझै ३ उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ।

निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलालका अनुसार चैत २३ गतेसम्म खर्च विवरण बुझाउने तथा सार्वजनिक गर्ने समयसीमा तोकिएको छ। बुझाइएको विवरणअनुसार विभिन्न दलका उम्मेदवारहरूले लाखौं रुपैयाँ खर्च गरेको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ११ लाख ७६ हजार ५७५ रुपैयाँ, नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्बाहाङले २४ लाख ९३ हजार रुपैयाँ, एमालेका क्षितिज थेबेले २२ लाख ४२ हजार ५२५ रुपैयाँ र नेकपाका खेलप्रसाद बुढाक्षेत्रीले २३ लाख ४९ हजार ४२८ रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन्।

त्यस्तै अन्य दलका उम्मेदवारहरूले पनि न्यूनदेखि मध्यम खर्च विवरण बुझाएका छन्। तर राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा लगायत केही उम्मेदवारले अझै विवरण बुझाएका छैनन्।

निर्वाचन कानुनअनुसार उम्मेदवारले खर्च विवरण बुझाउनु मात्र नभई सार्वजनिक पनि गर्नुपर्ने व्यवस्था छ। तर हालसम्म जम्मा एक जना उम्मेदवार—जनता समाजवादी पार्टी नेपालका सूर्य तुम्बाहाङ—ले मात्र आफ्नो खर्च विवरण सार्वजनिक गरेको प्रमाणसहित जानकारी दिएका छन्।

निर्वाचन आयोगले खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवारमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। जिल्ला निर्वाचन कार्यालयले समयमै विवरण बुझाउन र सार्वजनिक गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ।

प्रकाशित: ८ चैत्र २०८२ १८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App