राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले प्रतिनिधिसभाको बैठकमा बोल्दै वर्तमान समयमा लोकतन्त्रको व्याख्या विभिन्न रुपले भइरहेको बताएकी छन्।
उनले ‘लोकतन्त्रको व्याख्या अनेक रहेछ, आफूले पाए जनमत, अरूले पाए भिड’ भन्ने तर्क राजनीतिमा स्थापित भएको भन्दै विगतमा भएको विभिन्न राजनीतिक काण्डहरुको विषयमा बोल्न समय अपुग रहेको बताइन्।
उनले आफूले निलो डायरीमा संकलन गरेर राखेका विभिन्न चर्चित काण्डहरूको सूची सदनमा सुनाएकी थिइन्।
बास्कोटाले फोर जी काण्ड, वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगम काण्ड, स्विस बैंक प्रकरण, गिरीबन्धु टी-स्टेट प्रकरण, एनसेल काण्ड, ३३ किलो सुन, ६० किलो सुन र १०० किलो सुन तस्करी प्रकरण, धमिजा काण्ड, लाउडा काण्ड, सुडान काण्ड, ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, ओम्नी समूह प्रकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण तथा ड्राइभिङ लाइसेन्स प्रिन्टिङसम्बन्धी विवादलगायतका विषयमा उल्लेख गरिन्।
उनले नेपालमा पटक–पटक यस्ता ठूला भ्रष्टाचार र अनियमितताका प्रकरण सार्वजनिक भए पनि छानविन हुन नसकेको भन्दै संसदको ध्यानाकर्षण गराइन्।
प्रकाशित: २८ जेष्ठ २०८३ १४:२९ बिहीबार





