पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको दाबी गर्दै अन्ततः आफू रिहा भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहाइ भएको उल्लेख गर्दै आफ्नो पक्षमा आवाज उठाउने सबैप्रति आभार प्रकट गरेका छन्। उनले आफ्नो रिहाइका लागि परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
एमाले अध्यक्ष समेत रहेका ओलीले प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र आफ्नो स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता जनाएका छन्।
यो पनि पढ्नुहोस्
पूर्वप्रधानमन्त्री ओली हाजिरी जमानीमा रिहा
उनले आफ्नो रिहाइको माग गर्दा दमनमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग समेत गरेका छन्। राज्य उदासीन भए घाइतेहरूको उपचार खर्च पार्टीले बेहोर्ने घोषणा पनि उनको छ।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी पनि दिएका छन्।
हेर्नुस् उनको फेसबुक स्टाटस
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।
प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु।
मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
प्रकाशित: २६ चैत्र २०८२ १३:४२ बिहीबार





