१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई ओलीको निर्देशन- हाम्रो ध्यान बहुमत सरकार निर्माणमा केन्द्रित हुनुपर्छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अबको सम्पूर्ण ध्यान बलियो र बहुमतको सरकार निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई स्थायित्व दिन एमालेको एकल बहुमत आवश्यक रहेको भन्दै कार्यकर्तालाई सोही अनुसारको तयारीमा लाग्न निर्देशन दिएका हुन्।

अध्यक्ष ओलीले वर्तमान राजनीतिक अस्थिरता र अन्योललाई चिर्न एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।

गठबन्धन र कमजोर सरकारका कारण राष्ट्रिय हित र जनजीविकाका सवाल ओझेलमा परेको भन्दै उनले अबको गन्तव्य स्पष्ट हुनुपर्ने बताए।

सम्बोधनका क्रममा उनले भने, ‘हाम्रो ध्यान सधैंभरि वर्चस्वशाली र बहुमतको सरकार निर्माणमा केन्द्रित हुनुपर्छ। त्यसका लागि पार्टी पंक्ति एकताबद्ध र सुदृढ भएर अघि बढ्नुको विकल्प छैन।’

मुलुक जुनसुकै बेला निर्वाचनमा जान सक्ने वा निर्वाचन नै लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टी पंक्तिलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिए।

‘हाम्रो पार्टी निर्वाचनबाट कहिल्यै भाग्दैन। जतिबेला भए पनि हामी निर्वाचनको सामना गर्न र जनताको म्यान्डेट लिन तयार छौँ,’ ओलीले भने, ‘सिंगो पार्टी पंक्तिलाई निर्वाचनका लागि हमेशा तमतयार अवस्थामा राख्नुपर्छ। यसका लागि आवश्यक तयारीलाई तीव्रता दिनुहोस्।’

उनले समाजमा ‘पपुलिजम’ र अराजकता फैलाउने प्रयास भइरहेको भन्दै त्यसलाई वैचारिक रूपमा प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गरे। कुनै जादुगरले आएर समस्या समाधान नगर्ने भन्दै उनले एमालेको नीति, विचार र संगठन नै देशको मियो भएको दाबी गरे।

‘नयाँ पुस्ताको भावनालाई समेत समेट्दै पार्टीलाई अझ सशक्त बनाउनुपर्छ,’ ओलीले भने, ‘केही भ्रमहरू फिँजाइएका छन्, तिनलाई चिर्दै जनताको बीचमा जानु नै अहिलेको आवश्यकता हो।’

प्रकाशित: २६ पुस २०८२ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App