नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको भन्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्।
उनले धेरै ज्ञान भएका मानिस पनि असल र मानवतावादी हुन नसके समाज र छिमेकीका लागि पीडादायक बन्ने धारणा व्यक्त गरे।
ओलीले भगवानको उत्पत्ति र धार्मिक मान्यताबारे व्याख्या गर्दै पार्वतीको श्रापपछि देवताका सन्तान जन्मिन बन्द भएको प्रसङ्ग सुनाए। त्यसपछि भने नक्कली भगवानहरू जन्मिएर हैरान पारेको उनको टिप्पणी थियो।
‘अब देवता, बढी देवता जन्मिँदैनन् । तर पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ,’ ओलीले भने। उनले समाजमा दक्षिणतिरबाट आउने जोगीलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिप्रति पनि व्यङ्ग्य गरे।
‘हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ,’ उनले भने।
ओलीले सत्य, न्याय र मानवतावादलाई विचार निर्माणको आधार बनाउनुपर्नेमा जोड दिए । उनले योग दर्शनको अष्टाङ्ग योगअन्तर्गत यम र नियमको चर्चा गर्दै हिंसा नगर्ने, असत्य नबोल्ने, सत्य बोल्ने, शान्तिको मार्गमा हिँड्ने र सबैको सुरक्षा गर्ने मान्यतामा जोड दिए।
त्यसैगरी, अरूको सम्पत्तिमा लोभ नगर्ने र आफ्नो जायज हकमा मात्रै सीमित रहने सिद्धान्त पनि महत्त्वपूर्ण रहेको उनले बताए।
‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ । त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट,’ ओलीले भने।
योग दर्शनको व्याख्या गर्दै उनले पतञ्जलिको योगमा आइपुग्दा ईश्वरवादसँग जोडिएको उल्लेख गरे। उनका अनुसार सांख्य र शैव दर्शनमा योग ईश्वरवादमा मिसिएको थिएन।
‘आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन्। बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख। शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ,’ ओलीले भने।
प्रकाशित: १० कार्तिक २०८३ १७:१७ मंगलबार




-600x400.jpg)
