१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई ओलीको चुनौती– यो त एमालेमय देश हो, अब के गर्नुहुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशिला कार्की प्रति इंगित गर्दै देश नै ‘एमालेमय’ भएको दाबी गरेका छन्।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले राज्यका हरेक संयन्त्रमा एमालेको योगदान रहेको भन्दै अब कसरी अगाडि बढ्नुहुन्छ भनी प्रधानमन्त्रीलाई खुला चुनौती दिएका हुन्।

ओलीले भने, ‘उहाँहरूलाई अब अदालत पनि एमाले लाग्छ, सेना-प्रहरी पनि एमाले लाग्छ, कर्मचारी पनि एमाले लाग्छ। रेबिज लागेको जनावरले जता पनि पानी देख्न थाल्छ।’

अध्यक्ष ओलीले एमालेले राष्ट्र निर्माणमा गरेको योगदानका कारण देश नै एमालेमय भएको जिकिर गरे। उनले प्रधानमन्त्री कार्कीलाई प्रश्न गर्दै भने, ‘यो त एमालेमय देश हो। तपाईंहरू अब के गर्नुहुन्छ ?’

आफ्नो दाबीलाई पुष्टि गर्न ओलीले सुरक्षा निकायमा एमालेले गरेको योगदान सुनाए। ‘नेपाली सेनालाई बङ्करबाट ब्यारेकमा एमालेले सारेको हो। प्रहरीलाई दर्जाविहीन अवस्थाबाट दर्जामा उठाउने र रासन-पोसाकको सुविधा बढाउने काम एमालेले नै गरेको हो,’ ओलीले भने।

उनले एमाले देश, जनता, शान्ति र सुशासनका लागि काम गर्ने शक्ति भएकाले सबैका लागि प्रिय भएको दाबी गरे।

साथै, ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदमको संज्ञा दिँदै त्यसको विरोध गरे। उनले असंवैधानिक सिफारिसमा भंग गरिएको संसद अविलम्ब पुनर्स्थापना हुनुपर्ने र त्यो भएरै छाड्ने ठोकुवा समेत गरे।

प्रकाशित: ६ मंसिर २०८२ १५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App