२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहाललाई ओलीको जवाफ: बन्दै गरेको प्यारापिट हेर्न जानुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उठाएको प्रश्नको सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन्।

प्रधानमन्त्री ओलीले रंगशालामा प्यारापिट र फ्लडलाइट जडानको काम भइरहेको बताउँदै दाहाललाई ‘काम हेर्न जान’ आग्रह गरेका हुन्।

सोमबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भने, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा समयसीमा तोकेर काम गरेको तर दाहालले त्यसो नगरेको भन्दै आलोचना समेत गरे। उनले लेखेका छन्, ‘मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ। तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु।’

यसअघि, आजै संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले सरकारले ३०० दिनभित्र कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माण गर्ने घोषणा गरे पनि एक वर्ष बितिसक्दा काम पूरा नभएको भन्दै आलोचना गरेका थिए।

उनले आफ्नो नेतृत्वको सरकारले फ्लडलाइट जडानका लागि ठेक्का सम्झौता गरिसकेको स्मरण गराउँदै वर्तमान सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाएका थिए।

‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ?’ भन्दै दाहालले सरकारको घोषणा केवल प्रचारबाजीमा सीमित भएको आरोप लगाएका थिए।

यसै सन्दर्भमा प्रधानमन्त्री ओलीको स्ट्याटस आएको हो।

प्रकाशित: ३० असार २०८२ १६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App