नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेकपा एमालेलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन आग्रह गरेका छन् ।
उनले एमालेको लक्ष्य पनि समाजवाद भएकाले एउटै कम्युनिस्ट पार्टी बनाएर अघि बढ्न आग्रह गरे ।
`आज एमालेको अधिवेशन चलिरहेको छ,´ सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै पूर्व एमाले अध्यक्षसमेत रहेका खनालले भने, `अब नेपाली कम्युनिस्ट पार्टीको मूलप्रवाह नेपाली कम्युनिस्ट पार्टीमा एकतावद्व भएर अघि बढ्न आग्रह गर्छु ।´
उनले सर्वहारा वर्गको हितका लागि भन्दै सयौँ कम्युनिस्ट पार्टी खोलिएको बताउँदै अब एउटै पार्टी निर्माण गर्नुपर्ने बताए ।
`एमालेको बाटो पनि समाजवाद हो, आउनुहोस् एउटै कम्युनिस्ट पार्टी बनाउँ´ उनले भने, `सर्वहारा वर्गको पार्टी धेरै हुँदैनन् ।´
प्रकाशित: २७ मंसिर २०८२ १६:११ शनिबार





