श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाउने आशंका व्यक्त गरेका छन्।
सरकारले राज्यकोषबाट पीडितहरूको पैसा तिरिहाल्ने बताउँदै उनले यस्तो आशंका व्यक्त गरेका हुन्। सांसद साम्पाङले अब सहकारी ठगीका घटना झनै बढ्दै जाने भनाइ राखे।
'अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए। अब अरूले पनि ठग्नेछन्। आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ। सुशासनका सत्यानाश...' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
यसअघि, भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको बताएको थियो। यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो।
प्रकाशित: ७ जेष्ठ २०८३ ०९:३८ बिहीबार





