नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा राज्यका महत्त्वपूर्ण अंगहरूमाथि भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
मंगलबार पार्टीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सह-संयोजक नेपालले आन्दोलनका नाममा भएको खर्बौंको क्षतिलाई कसैले पनि संरक्षण वा प्रोत्साहन गर्न नहुने स्पष्ट पारे।
नेता नेपालले भने, ‘भदौ २४ गते आन्दोलन हाइज्याक भयो र अत्यन्तै विध्वंशकारी कामहरू भए। राज्यका तीनवटै महत्त्वपूर्ण अंगहरू- कार्यपालिकाको प्रतीक सिंहदरबार, न्यायपालिकाको प्रतीक सर्वोच्च अदालत र व्यवस्थापिकाको प्रतीक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाइए।’
उनले आन्दोलनकारीले राष्ट्रपति भवन, विभिन्न पार्टी कार्यालय, नेता-कार्यकर्ताका घर र सुरक्षा निकायका भवनहरूमा समेत आगजनी गरेको स्मरण गराए। ‘यो गलत कुरालाई कसैले पनि संरक्षण गर्ने वा प्रोत्साहन दिने काम गर्नु हुँदैन, दोषीलाई दण्डित गर्नुपर्छ,’ नेपालले भने।
उनले भदौ २३ गते युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग गर्दै शान्तिपूर्ण आन्दोलन गरे पनि तत्कालीन सरकारले वार्ता र संवाद नगर्दा परिस्थिति बिग्रिएको बताए।
सरकारको बेवास्ताका कारण आन्दोलन भड्किएर खर्बौँको भौतिक क्षति भएको उनको जिकिर थियो। सह-संयोजक नेपालले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी अब नेपाली कम्युनिस्ट पार्टीको काँधमा आएको समेत बताए।
प्रकाशित: २९ पुस २०८२ १७:१३ मंगलबार


-600x400.jpg)


