२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

नियुक्ति र बढुवामा अब राजनीतिक दबाब चल्दैन : शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्। 

उनले आगामी चार वर्षभित्र विश्वविद्यालयमा कायम रहेको राजनीतिकरण अन्त्य गरी मेरिटोक्रेसीका आधारमा शैक्षिक संस्था सञ्चालन गरिने बताएका हुन्। 

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका मन्त्री पोखरेलले विश्वविद्यालयको नेतृत्व र प्रशासनिक संरचना अब राजनीतिक भागबण्डाका आधारमा होइन, योग्यता र क्षमताका आधारमा निर्माण गरिने स्पष्ट पारे। 

उनका अनुसार विश्वविद्यालयमा नियुक्ति, सरुवा, बढुवा वा अन्य प्रशासनिक निर्णयमा कुनै पनि राजनीतिक दबाब स्वीकार गरिने छैन। विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक वातावरण जोगाउन सरकारले आवश्यक संरक्षण र सहयोग गर्ने उनले बताए। 

मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारी तथा सरोकारवालालाई कुनै पनि राजनीतिक दबाब वा अनुचित हस्तक्षेप भए तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। आफ्नै दल वा अन्य कुनै पनि राजनीतिक शक्तिबाट दबाब आए त्यसको प्रतिरोध गर्न सरकार तयार रहेको उनको भनाइ थियो। 

उनले विश्वविद्यालय सुधार राजनीतिक स्वार्थभन्दा माथि उठेर मात्र सम्भव हुने उल्लेख गर्दै आगामी दिनमा सबै निर्णय मेरिटोक्रेसीका आधारमा हुने विश्वास व्यक्त गरे। उनका अनुसार विश्वविद्यालयलाई सक्षम, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने लक्ष्यसहित सरकारले सुधारका कार्यक्रम अघि बढाउनेछ।

प्रकाशित: ७ श्रावण २०८३ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App