नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणी देवकोटाले सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया र वास्तविक जनताको मनस्थिति फरक रहेको बताएका छन्। गाउँ–गाउँमा पुग्दा जनतामा नेकपा एमालेप्रति विश्वास र समर्थन देखिएको उनले दाबी गरे।
उनले भने, 'गुगलमा जे देखिए पनि भुगोलमा नेकपा एमालेले जित्ने अवस्था छ।' उनले घरदैलो अभियानका क्रममा जनताको सुख–दुःख नजिकबाट बुझेको उल्लेख गर्दै आफू पार्टीको मात्र नभई गाउँ घरका जनताको सुख दुःख बुझ्ने उम्मेदवार भएको बताए। उनले नेकपा एमालेका पक्षमा मतदान गर्न आग्रह गर्दै पार्टीको नीति र नेतृत्व देशको समृद्धिका लागि आवश्यक रहेको जिकिर गरे।
देवकोटाले कृषि उत्पादन र पर्यटनमार्फत आयआर्जन बढाउनुपर्ने आवश्यकता औंल्याउँदै आफू किसानको छोरा भएकाले श्रम र उत्पादनसँग परिचित रहेको बताए। 'जनताको घरदैलोमा पुगेर समस्या बुझेको छु, त्यसलाई व्यवहारमै सम्बोधन गर्छु,' उनले भने।
नयाँ शक्तिहरूले समाजमा उत्तेजना, घृणा र निराशा फैलाइरहेको बताए। उनले निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्नुपर्ने धारणा राखे। देश, जिल्ला र गाउँ–टोलको विकासका लागि नेकपा एमालेको जित आवश्यक रहेको उनको भनाइ थियो।
प्रकाशित: १७ माघ २०८२ ०७:५२ शनिबार





