१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमालेमाथि जति घेराबन्दी भए पनि जनताको मनमा रहेकाले केही हुँदैन: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी समृद्धिको स्वप्नद्रष्टा र त्यसलाई पूरा गर्ने संकल्प बोकेको शक्ति भएको दाबी गरेका छन्।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको विकास, राष्ट्रिय स्वाधीनता र समृद्धिका लागि एमाले निर्विकल्प शक्ति भएको बताएका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई घेराबन्दीमा पारिएको भन्दै आक्रोश समेत व्यक्त गरे। ‘हामीमाथि प्रहार कम छैनन्, तर जतिसुकै घेराबन्दी र प्रहार भए पनि एमाले जनताको मन–मनमा र मुटु–मुटुमा रहेकाले यो शक्तिलाई कसैले कमजोर बनाउन सक्दैन,’ ओलीले भने।

अध्यक्ष ओलीले एमाले भनेको भूकम्पपछिको पुनर्निर्माणको सफल इन्जिनियर भएको र मानवतावाद तथा पञ्चशीलको सिद्धान्तमा अडिग पार्टी रहेको जिकिर गरे।

‘नेकपा एमाले भनेको असल र विश्वसनीय छिमेक सम्बन्ध राख्ने र पारस्परिक लाभ र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने पार्टी हो,’ उनले थपे।

मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषि र उद्योगको आधुनिकीकरणमा जोड दिँदै उनले भने, ‘हामी सपना मात्र देख्दैनौँ, हरेक दिन एक पाइला अघि बढेर त्यसलाई पूरा गर्छौँ।’

अध्यक्ष ओलीले नेपालको भू–राजनितिक संवेदनशीलतालाई उल्लेख गर्दै सार्वभौम सत्तामा साना वा ठूला देश भनेर विभेद हुन नसक्ने स्पष्ट पारे। उनले भने, ‘देश भूगोल वा जनसंख्यामा सानो–ठूलो होला तर सार्वभौम सत्ता सबैको बराबर हुन्छ। हामी कसैको थिचोमिचो सहदैनौँ।’

संविधान निर्माण, नाकाबन्दीको सामना र उत्तरतर्फको नाका खुलाएका कारण एमालेमाथि चौतर्फी आक्रमण भएको उनको भनाइ थियो। ‘हामी नढलेसम्म र हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान झुक्दैन,’ ओलीले उद्घोष गरे।

उनले लोकतन्त्रलाई राजनीतिक घेराभित्र मात्र सीमित राख्न नहुने भन्दै सामाजिक न्याय र समानता सहितको परिपूर्ण लोकतन्त्रको पक्षमा एमाले रहेको बताए।

महाधिवेशनमा देशभरबाट आएका लाखौँ कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थितिले एमालेको लोकप्रियता पुष्टि गरेको समेत उनले दाबी गरे।

प्रकाशित: २७ मंसिर २०८२ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App