२७ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

बागमतीमा एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने प्रक्रिया अघि बढाइएको छ। उनलाई दलको नेताबाट हटाउन एमाले प्रदेश संसदीय दलको कार्यालयमा बुधबार अविश्वास प्रस्ताव दर्ता भएको हो।

प्रदेश सांसद किरण थापाका अनुसार १८ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको छ। पार्टीको निर्देशनअनुसार संसदीय दलको नेता परिवर्तनका लागि प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।

पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटामार्फत प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको जनाइएको छ।

थापाका अनुसार केही समयअघि भक्तपुरको गुण्डुमा संकलन गरिएको सांसदहरूको हस्ताक्षर प्रतिनिधिमार्फत दलको सचिवालयमा बुझाइएको हो।

एमाले संसदीय दलको विधानअनुसार दर्ता भएको अविश्वास प्रस्तावमाथि ७ दिनभित्र संसदीय दलको बैठक बसेर छलफल गर्नुपर्ने व्यवस्था रहेको छ। त्यसपछि थपलियाको नेतृत्व कायम रहने वा नयाँ नेता चयन हुने विषयमा प्रक्रिया अघि बढ्नेछ।

बागमती प्रदेशमा एमाले संसदीय दलको नेतृत्वलाई लिएर केही समयदेखि विवाद रहँदै आएको थियो। नेतृत्व परिवर्तनको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत पटक–पटक छलफल भएको बताइएको छ।

अब अविश्वास प्रस्तावमाथि संसदीय दलमा हुने छलफलले बागमती प्रदेशमा एमालेको आन्तरिक शक्ति समीकरण र आगामी नेतृत्वको दिशा तय गर्ने देखिएको छ।

प्रकाशित: २७ श्रावण २०८३ १८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App