नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला उपसभापति र महामन्त्री पदको मतगणना शनिबार साँझदेखि सुरु भएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उम्मेदवारहरूसँगको छलफलपछि उनीहरूकै रोहवरमा मतपेटिका खोलेर शनिबार बेलुकी साढे ७ बजेदेखि मतगणना थालिएको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ वटा कोठामा एकसाथ मतगणना भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
मतगणना स्थलमा सीसी क्यामेरा जडान गरी उम्मेदवारका आधिकारिक प्रतिनिधिहरूको उपस्थितिमा गणना अघि बढाइएको छ।
यसअघि सम्पन्न सभापति पदको निर्वाचनमा गगनकुमार थापा भारी मतका साथ विजयी भइसकेका छन्। थापाले झण्डै ९४ प्रतिशत मत ल्याएर प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्।
नवनिर्वाचित सभापति थापाले शनिबार पार्टी कार्यालयमा सम्बोधन गर्दै पराजित खड्गीसहित अबको परिणामबाट आउने सबै पक्षलाई समेटेर पार्टी हाँक्ने प्रतिबद्धता जनाएका छन्।
चुनावी प्रतिस्पर्धाबाट देखिने जित-हार क्षणिक भएको उल्लेख गर्दै उनले पार्टी निर्माणमा सबैको उत्तिकै भूमिका रहने र कसैलाई पनि जिम्मेवारीबाट अलग नराखिने स्पष्ट पारे।
प्रकाशित: २४ आश्विन २०८३ २०:३१ शनिबार





