नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले आगामी निर्वाचनको तयारीसँगै पार्टीसँग चित्त दुखाएका नेता-कार्यकर्ताहरूसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार बसेको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै युवा नेतासमेत रहेका भट्टले स्थानीय र प्रदेश चुनावको तयारीमा जुट्नुपर्ने बताए।
विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएर बाहिर बसेका नेता-कार्यकर्तासँग संवाद गरी पुनः पार्टीमा फर्काउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
‘अब विस्तारै स्थानीय र प्रदेश चुनाव आउँदैछ, त्यसको तयारीमा हामी जुट्नुपर्छ। चुनावको तयारीमा जुट्नु मात्र महत्त्वपूर्ण होइन,’ भट्टले भने, ‘किनकि हिजो विभिन्न कालखण्डमा हामीसँग रिसाएर पार्टीबाहिर बसेका साथीहरूलाई पुनः घर फर्काउने गरी संवाद थाल्नुपर्छ। त्यसबारे म नेतृत्वको ध्यानाकर्षण गराउँछु।’
उनले आगामी स्थानीय र प्रदेश निर्वाचनमा युवाहरूलाई आरक्षणभन्दा पनि अवसर सिर्जना गर्नुपर्ने बताए। १५औं महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा आएका नयाँ पुस्ताका नेताहरूलाई केन्द्रित गरेर प्रशिक्षण कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।
‘निर्वाचनमा युवाहरूलाई आरक्षण वा कोटा छुट्याउने होइन। युवालाई दक्ष बनाउने र आफैं अवसरको खोजी गर्न सक्ने जनशक्ति पार्टीले निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘अहिले केन्द्रीय समितिमा हामी धेरै नयाँ साथीहरू आएका छौं। खासगरी नयाँ पुस्तालाई प्रतिनिधित्व गर्दै केन्द्रीय समितिमा जोडिएका साथीहरूलाई प्रशिक्षित गरेर थप सशक्त बनाउन जरुरी छ।’
बैठकमा भट्टले जनजीविका र विपद् व्यवस्थापनका विभिन्न विषयमा पार्टी केन्द्रीय समितिमार्फत सरकारको ध्यानाकर्षण गराए। भोटेकोशी र बूढीगण्डकी बाढी प्रभावितहरूका लागि सरकारले उचित ढंगले काम गर्न नसकेको भन्दै उनले पार्टीका तर्फबाट सरकारलाई थप घच्घच्याउन आग्रह गरे।
‘पार्टी सभापतिज्यू भोटेकोशी बाढी प्रभावित स्थलको अवलोकन गरेर फर्किनुभएको छ। त्यसबारे उहाँका केही धारणा पनि हामीले सुन्यौं कि जनताले सास्ती भोगिरहेका छन्। त्यसो त असोज २५ को बूढीगण्डकी बाढी प्रभावितलाई सरकारले राहत उपलब्ध गराउन सकेको छैन। पुनर्स्थापनाका काम अघि बढेनन्। सरकारी कोषमा पैसा छ, तर पीडितको हातमा राहत रकम पुगेको छैन,’ उनले भने, ‘सभापतिज्यू, पदाधिकारी तथा सदस्य साथीहरू र संसद्मा प्रतिनिधित्व गर्ने साथीहरू, हाम्रो ध्यान अब सरकारलाई घच्घच्याउने र बाढी प्रभावित नागरिकको समस्या समाधानका लागि पहल गर्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।’
यसैगरी, काठमाडौंमा नदी किनारबाट हटाइएका सुकुमबासीहरूको उचित व्यवस्थापन हुन नसकेको विषयमा समेत उनले पार्टीमार्फत सरकारको ध्यानाकर्षण गराए।
‘सरकारले हतारो गरी काठमाडौंका सुकुमबासीहरूलाई हटायो, तर व्यवस्थापन गर्न पूर्ण रूपमा चुकेको छ,’ भट्टले भने, ‘त्यसका लागि केन्द्रीय समितिदेखि संसद् र परिआए सडकमा पुगेर भए पनि सुकुमबासीको समस्या समाधानका लागि सरकारलाई घच्घच्याउनुपर्छ।’
सुशासनको नारा दिएर आएको सरकार महँगी नियन्त्रण गर्नबाट पूर्ण रूपमा चुकेको उनको आरोप छ। महँगीका कारण नागरिकको जनजीवन दयनीय बन्दै गइरहेको भन्दै उनले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
अर्को प्रसंगमा भट्टले प्रधानमन्त्रीको हालैको भारत भ्रमणबाट हवाई रुटलगायतका केही विषय महत्त्वपूर्ण रहे पनि सीमा विवादका विषयमा सरकारको त्रुटि देखिएको टिप्पणी गरे।
प्रकाशित: १० मंसिर २०८३ २०:०० बिहीबार





-600x400.jpg)