२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

रविलाई जन्मदिनमा ज्ञानेन्द्रको पत्र: न भ्रष्टाचारी जेल परे, न जनताले ग्यास पाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जन्मदिनको शुभकामना दिँदै हिजो सडकमा गरिएको संघर्ष र जनअपेक्षा नबिर्सन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै सांसद शाहीले १८२ सिट र दुई-तिहाइको जनमत सत्ता उपभोगका लागि मात्र नभई सुशासन दिनका लागि भएको स्मरण गराएका हुन्।

पार्टी र राजनीतिक विचार फरक भए पनि भ्रष्टाचारविरुद्धको लडाइँ साझा भएको उल्लेख गर्दै शाहीले लेखेका छन्, ‘आज तपाईंको पछाडि हजारौं-लाखौं जनता उभिएका छन्। जनताले तपाईंलाई दुई-तिहाइको सरकार चलाउने ऐतिहासिक जिम्मेवारी दिएका छन्, १८२ सिटको जनमत दिएका छन्। यो केवल सत्ता होइन, जनताको ठूलो विश्वास र आशा हो।’

विगतमा चितवन, पोखरा र काठमाडौंका सडकमा ज्यानसमेत बाजी राखेर भ्रष्टाचार र गलत प्रवृत्तिविरुद्ध सँगै उत्रिएको स्मरण गराउँदै शाहीले लामिछानेलाई ‘हिजो हामीले किन लडेका थियौं भन्ने कुरा आज पनि नबिर्सनुहोस्’ भन्दै सचेत गराएका छन्।

सरकार सञ्चालन भएको करिब छ महिना बितिसक्दा पनि नागरिकले सुशासनको अनुभूति गर्न नपाएको शाहीको टिप्पणी छ। ‘छ महिना भइसक्दा पनि ठूला भ्रष्टाचारका फाइलहरू खुलेका छैनन्, भ्रष्टाचारीहरू जेल परेका छैनन्, अपराधीहरू खुलमखुला घुमिरहेका छन्,’ उनले लेखेका छन्, ‘जनताले सरकार परिवर्तन मात्र खोजेका होइनन्, शासन गर्ने शैली र व्यवस्था परिवर्तनको अनुभूति खोजेका हुन्।’

देशमा अझै पनि ग्यास, अस्पतालको उपचार र राहदानीका लागि नागरिकले घन्टौं लाइन बस्नुपरेको र सुरुङभित्र फसेका नागरिकहरूको अझै उद्धार हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।

जन्मदिनको अवसरमा आग्रह गर्दै सांसद शाहीले ठूला भ्रष्टाचारका फाइल खोल्न सरकारलाई सही मार्गनिर्देशन गर्न, बेथितिविरुद्ध कठोर कदम चाल्न दबाब दिन र सुशासन दिने दिशामा दृढतापूर्वक सरकारलाई डोर्‍याउन सभापति लामिछानेलाई अपिल गरेका छन्।

प्रकाशित: २८ भाद्र २०८३ २१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App