२७ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीको भेट, निष्पक्ष निर्वाचनमा जोड

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र निर्वाचन आयुक्तद्वय गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बुधबार भएको भेटमा अध्यक्ष दाहालले नवनियुक्त निर्वाचन पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

भेटका क्रममा अध्यक्ष दाहालले निर्वाचन आयोगले आफ्नो संवैधानिक जिम्मेवारी निष्पक्ष, सन्तुलित र प्रभावकारी ढंगले पूरा गर्ने विश्वास व्यक्त गरे।

उनले राष्ट्रिय सभामा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको पद रिक्त रहेको विषयसमेत स्मरण गराउँदै सरकारलगायत सम्बन्धित पक्षसँग आवश्यक समन्वय गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले संविधान तथा प्रचलित कानुनको अधीनमा रहेर निर्वाचन आयोगको जिम्मेवारी पूरा गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

भेटमा निर्वाचनसम्बन्धी विषय, आयोगको आगामी जिम्मेवारी तथा रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रकाशित: २७ श्रावण २०८३ १७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App