शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताएका छन्।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासा आउने गरेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार पारिसकेको जानकारी दिए।
उनकाअनुसार उक्त मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकिएको छ। ती मन्त्रालयबाट राय र स्वीकृति प्राप्त भएपछि नियमावली मन्त्रिपरिषद्मा पेश गरिनेछ।
मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू हालसम्म प्रभावकारी रूपमा नियमन हुन नसकेको बताए। नियमावलीमार्फत कुन विश्वविद्यालयलाई सम्बन्धन दिन मिल्ने, कुनलाई नमिल्ने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय स्पष्ट गरिने उनले जानकारी दिए।
उनले नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहे पनि विदेशी सम्बन्धन प्राप्त कलेजहरू व्यवस्थित रूपमा सञ्चालन र अनुगमन हुन नसकेको बताए।
शिक्षा मन्त्रालयले हाल तीन वटा नियमावली एकसाथ अघि बढाइरहेको पनि उनले जानकारी दिए। तीमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन्।
शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनमा ल्याउन नसकिएकाले अन्तरिम व्यवस्थाका रूपमा शिक्षा नियमावली अघि बढाइएको मन्त्री पोखरेलको भनाइ थियो।
उनले विद्यालयहरूमा शिक्षक दरबन्दी मिलानको काम पनि अगाडि बढाइसकिएको जानकारी दिएका छन्।
प्रकाशित: १० जेष्ठ २०८३ १८:२४ आइतबार





