२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस-एमालेलाई नयाँ दल चुनौती

आगामी निर्वाचनमा पुराना दलको विकल्पमा खडा भएका नयाँ दलहरूले आपसमा सहकार्य गर्ने गरी संवाद थालेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी मुद्दाको बिगो बुझाएर बाहिर निस्केलगत्तै नयाँ दलका नेताहरू छलफलमा जुटेका हुन्।

विघटित प्रतिनिधिसभाका पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचनमा जान अलमल गरिरहेका बेला रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र नयाँ खुलेका अन्य दलहरूले एकै ठाउँमा उभिनका लागि संवाद सुरु गरेका हुन्। कांग्रेस–एमालेको विकल्पमा उभिने हिसाबले उनीहरूले संवाद गरिरहेका छन्।

रास्वपा सभापति लामिछानेले सोमबार साँझ मेयर बालेनसँग लामो छलफल गरे। छलफलमा उनले रास्वपाका तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाएको बताइएको छ। लामिछानेले भने चितवन पुगेर त्यसबारे खण्डन गरेका छन्।

लामिछानेले मंगलबार सञ्चारकर्मीसँग ‘बालेनलाई प्रधानमन्त्री बनाउने’ विषयमा छलफल नै नभएको भनेका छन्। ‘हामी त्यस विषयमा प्रवेश गरेकै छैनौं। पहिले त थाहा पाउनुपर्‍यो, कुराकानी हुनुपर्‍यो र के कस्तो छ भन्ने बुझ्नुपर्‍यो। एकअर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्‍यो,’ लामिछानेले भने।

लामिछानेले उज्यालो पार्टी र त्यसका नेता एवं ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गर्ने बताइरहेका छन्। रास्वपा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी लगायतले आफूलाई वैकल्पिक शक्ति दाबी गरिरहेका छन्।

लामिछानेले सबै वैकल्पिक शक्तिहरू मिल्नुपर्ने भन्दै संवाद चलाएका हुन्। बालेनले उज्यालो नेपाललाई सहयोग गरेको बताइएको छ। बालेनका तर्फबाट भने यसबारे कुनै अभिव्यक्ति आएको छैन। एकाध पटक रास्वपाका नेताहरूसँग भेट गरेका घिसिङले कुराकानी नमिलेपछि छुट्टै दल दर्ता गराएका हुन्।

वैकल्पिक शक्तिबिच सहकार्य गर्ने संकेत भने यसअघि नै रास्वपाका नेता पुकार बमले सामाजिक सञ्जाल मार्फत दिएका थिए।

रास्वपा संवाद समितिमा रहेका उनले पनि घिसिङलगायत नेताहरूसँग छलफल गरेका थिए। लामिछाने जेलबाट छुटेपछि भने बिस्तारै वैकल्पिक शक्तिहरू एकत्रित हुने सम्भावना बढेको छ।

‘कारागारभित्र भएको एक मात्र कारण देखाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र एकताको बाधक देख्दै गर्दा भोलि नयाँ दलका अध्यक्ष कुलमान घिसिङमाथि नीतिगत, संस्थागत र आर्थिक भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग, संगठित अपराध, अपचलनलगायत मुद्दा र कुलमानजी नेतृत्वको पार्टीका अन्य प्रमुख नेता भनिएका र समर्थन गरेका बालेन साह, सुमना श्रेष्ठ, सुदन गुरुङ, सागर ढकाल, सोम शर्मालगायतमाथि देशद्रोह, आतंकवाद प्रोत्साहन, साम्प्रदायिक दंगा उत्प्रेरणा, आन्दोलनमा भिडलाई उक्साएको, विध्वंस मच्चाएको, आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने मुद्दा, हुलहुज्जत गरेकोलगायत मुद्दा दायरपश्चात् तपाईंहरूलाई के भन्ने ?’ बमले प्रश्न गर्दै फेसबुकमा लेखेका थिए।

त्यसलाई आधार मानेर नयाँ वैकल्पिक शक्तिहरूबिच सहकार्य हुने सम्भावना बढिरहेको छ। घिसिङ र लामिछानेबिच संवाद गराउने जिम्मेवारी पाएका बम त्यसमा असफल भएका थिए।

सरकारले आगामी फागुन २१ गते चुनाव गर्ने तयारी अगाडि बढाएको छ। नयाँ पार्टीहरूले पनि खुला रूपमै चुनावी तयारी गरेको देखिन्छ।

रास्वपाले भरपुर प्रचार गरिरहेको छ भने मन्त्री घिसिङ सरकारी बजेटमै देशभर घुमिरहेका छन्। हर्कराज राई पनि पूर्वदेखि पश्चिमसम्म चुनावी दौडमा लागेका छन्।

लामिछाने र बालेन भेटघाट गर्नु केही घण्टाअगाडि मात्रै सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेट भएको थियो।

एमाले महासचिव शंकर पोखरेलसहित देउवा निवास पुगेका ओलीले भेटघाटमा भएको कुराकानी सबै सार्वजनिक गरेका छैनन् तर उनीहरूको भेटघाट राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिसभा पुनर्स्थापना र निर्वाचनकै सन्दर्भमा थियो।

देउवा–ओलीको भेटपछि कांग्रेस–एमालेका सांसदहरूले सर्वोच्च अदालतमा सांसदहरूको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनस्र्थापनाको पूरक निवेदन बुझाइसकेका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कांग्रेस–एमालेको तत्कालीन सरकार ढल्दा, नेताहरूको घर जल्दा र त्यस्पछि पनि जेनजीका नाममा प्रहार भइरहँँदा पुराना दलहरू निकै दबाबमा छन्। जेनजी आन्दोलनकै बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार पनि अन्योलमा छ।

 कांग्रेस एमालेले भाग नलिए निर्वाचन युक्तिसंगत नहुने भनेर पनि सरकार अन्योलमा परेको हो तर दलहरूले चुनावका लागि फागुन २१ उपयुक्त हुने ठानेका छैनन्।

त्यसकारण पनि ती दलहरूले प्रतिनिधिसभा पुनस्र्थापनाको माग अघि सारिरहेका हुन्। नयाँ दलहरू कुनै न कुनै रूपमा सहकार्य गर्ने अवस्था बने कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतले पनि आपसी सहकार्य गर्न सक्ने देखिएको छ।

कांग्रेस–एमालेबिच संवाद घनीभूत रूपमा अघि बढेको अवस्थालाई हेर्ने हो भने सहकार्यको सम्भावनालाई नजरअन्दान गर्न सकिँदैन। यसले गर्दा मुलुकको राजनीतिमा पुराना र नयाँ दलहरूबिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।

लामिछाने र बालेनबिच सोमबार भएको भेटघाटले पुराना दललाई निर्वाचनमा सहकार्य गर्न बाध्य बनाउने अवस्था आउने देखिएको हो।

प्रकाशित: ९ पुस २०८२ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App