२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

नयाँ दलहरूसँग न भिजन छ, न राजनीतिक संस्कार: डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नयाँ उदाएका राजनीतिक दलहरूसँग मुलुक हाँक्ने स्पष्ट दृष्टिकोण र राजनीतिक संस्कारको अभाव रहेको टिप्पणी गरेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै डा. महतले नयाँ भनिएका दलहरूमा राजनीतिक प्रतिबद्धता, अनुभव र संस्कार केही पनि नदेखिएको बताएका हुन्।

प्रवक्ता महतले नयाँ दलहरूले कामभन्दा बढी प्रचारमुखी शैली अपनाएको र सामाजिक सञ्जालको बलमा भ्रम छरिरहेको बताए।

‘नयाँ पार्टीहरू भनिएको छ, तर उनीहरूको भिजन के हो ? मिसन के हो ?,’ महतले प्रश्न गर्दै भने, ‘न उनीहरूसँग राजनीतिक प्रतिबद्धता छ, न अनुभव छ, न त राजनीतिक संस्कार नै छ।’

उनले अहिलेको राजनीतिमा काम गर्नेभन्दा पनि काम गरेको जस्तो ‘भान पार्ने’ प्रवृत्ति हाबी भएको जिकिर गरे। ‘अहिले प्रचारको जमाना आयो, देखाउने जमाना आयो। काम गर्नेभन्दा पनि गरेको जस्तो भान पार्ने र त्यसमा सामाजिक सञ्जालको भूमिका ज्यादा देखियो,’ उनले भने।

डा. महतले यथार्थ भन्दा धारणा सिर्जना गरेर जनतालाई ‘ब्रेनवास’ गर्ने काम भइरहेको बताए।

‘अल्गोरिदमको प्रभावले मान्छेको ‘ब्रेनवास’ भइरहेको छ। ‘पर्सेप्शन इज मोर इम्पोर्टेन्ट देन रियालिटी’ (यथार्थभन्दा धारणा महत्त्वपूर्ण) भनेजस्तो भएको छ,’ उनले भने, ‘काम गरेर देखाउनेभन्दा पनि हो-हो जस्तो पारिदिने जमाना आएको छ। तर यसले लामो समय टिक्दैन।’

नयाँ दलहरूप्रति मानिसहरूको आकर्षण क्षणिक भएको दाबी गर्दै उनले जनताको मनमा अझै पनि कांग्रेसप्रति नै विश्वास रहेको जिकिर गरे।

‘अलिकति विश्वसनीय, अनुभवी र मध्यमार्गी पार्टी भनेको नेपाली कांग्रेस नै हो भन्ने जनतालाई थाहा छ,’ उनले भने, ‘हामीमा रहेका कमीकमजोरी सच्याउँदै एकताबद्ध भएर जाने हो भने कांग्रेस नै देशको सबल शक्ति हो।’

प्रकाशित: १६ पुस २०८२ १९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App