अब बन्ने नयाँ सरकार सिंहदरबार परिरसर भित्रबाटै चल्ने भएको छ । पुरानो गृह मन्त्रालय परिसरभित्र निर्माण भएको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्ने भएको छ। त्यसका लागि अहिले साजसजावटको काम भइरहेको छ ।
गृहमन्त्रालयका कर्मचारी नयाँ प्रधानमन्त्रीको कार्यालयको व्यवस्थापनमा दिनभर खटिएका छन् ।
शुक्रबार बिहान मुख्य सचिव एकनारायण अर्याल लगायत मन्त्रालयका सचिव अन्य उच्च कर्मचारीहरुले नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई उपयुक्त कार्यालय खोजेका थिए । त्यसक्रममा गृहमन्त्रालयका लागि बनेको नयाँ भवन उपयुक्त भएको उनीहरूले ठहर गरे । त्यस लगत्तै त्यस भवनमा सरसफाइ, आन्तरिक साजसजावट तथा अन्य व्यवस्थापनमा कर्मचारीहरुलाई खटाए ।
मुख्यसचिवको टोलीले गृह मन्त्रालयको कार्यालय हाल शिक्षा तथा संस्कृति मन्त्रालयमा सार्ने तयारी गरेको छ । मंगलबार जेन-जीको आन्दोलनको क्रममा गृह मन्त्रालयको भवन पनि पूर्णरुपमा जलेको छ । गृह मन्त्रालय शिक्षा मन्त्रालयमा सर्यो भने शिक्षा मन्त्रालय केशर मन्त्रालयमा सर्ने छ ।
शहरी विकास तथा भवन निर्माण विभागका अनुसार सिंहदरबार परिसरभित्र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयसहित भित्र ३० वटा साना ठूला भवन छन् । ती मध्ये मंगलबार भएको आन्दोनलमा अधिकांश भवनमा क्षति पुगेको छ । केही भवन भने पूर्णरुपमा जोगिएका छन् । ३० वटामध्ये धरैजसो भवन राणाकालीन हुन् भने केही भवन नयाँ छन् ।
शहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सामान्य क्षति भएको छ भने श्रम, रोजगार तथा जेष्ठ नागरिक मन्त्रालयमा खासै क्षति भएको छैन ।
गृह मन्त्रालयका एक कर्मचारीका अनुसार शुक्रबारदेखि मन्त्रालयमा प्रवेश गरेका कर्मचारीले सरसफाई तथा लगत संकलनको काम गरेका थिए । बिहीबार साँझ मुख्यसचिव अर्याालको संयोजकत्वमा सचिवहरुको बैठक बसेको थियो । बैठकमा शुक्रबार बिहानदेखि जलाइर्एका र ध्वस्त भएको सकारी सम्पत्ति सवारी साधन तथा भवनको लगत संकलन गर्ने निर्णय गरिएको थियो । सरकार कर्मचारीहरु बिहीबारदेखि कार्यालय आउन सुरु गरेका थिए । शुक्रबार धेरैजसो कर्मचारी कार्यालय पुगेका थिए ।
प्रकाशित: २७ भाद्र २०८२ १७:२२ शुक्रबार





