नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई व्यवस्थित र समयमै सम्पन्न गर्ने उद्देश्यसहित क्षेत्रअनुसार फरक–फरक समयसीमा निर्धारण गरेको छ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले अद्यावधिक प्रक्रियाका लागि नयाँ कार्यतालिका तय गरेको हो।
निर्णयअनुसार अनलाइनमार्फत प्रविष्ट भएका क्रियाशील सदस्यताका फारामहरू वडा तहबाट आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिइएको छ।
यद्यपि, इन्टरनेट पहुँच न्यून रहेका उच्च हिमाली जिल्लाका केही क्षेत्र, विकट पहाडी पालिका तथा क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया ढिलाइ भएका बारा र खोटाङ जिल्लाका लागि विशेष व्यवस्था गरिएको छ। ती क्षेत्रका लागि सदस्यता अद्यावधिक गर्ने अन्तिम मिति २०८३ असार ७ गतेसम्म कायम गरिएको समितिले जनाएको छ।
त्यसैगरी, नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई क्रियाशील सदस्यता अद्यावधिकका लागि थप समय दिँदै असार १० गतेसम्मको समयसीमा निर्धारण गरिएको छ।
समितिले क्रियाशील सदस्यता फाराम तथा अनलाइनमार्फत नयाँ सदस्यता वितरणको कार्य भने २०८३ असार २० गतेसम्म सञ्चालन हुने जनाएको छ।
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हाल डिजिटल प्रणालीमा ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्य आबद्ध रहेका छन्। जसमध्ये जेठ २८ गते राति १२ बजेसम्म वडा तहबाट अद्यावधिक सम्पन्न भएका तथा स्वयं अनलाइनमार्फत फाराम भरेर अनुमोदन प्रक्रियामा रहेका गरी ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ।
तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेको समितिले जनाएको छ। बाँकी १ लाख ४९ हजार ३०९ सदस्यले पेश गरेका स्वयं अद्यावधिक फाराम वडा तहबाट प्रमाणीकरणको प्रक्रियामा रहेका छन्।
कांग्रेसले डिजिटल सदस्यता प्रणालीलाई संगठन सुदृढीकरण र अभिलेख व्यवस्थापनको आधार बनाउने लक्ष्यसहित अभियानलाई तीव्रता दिएको जनाएको छ।
प्रकाशित: ३० जेष्ठ २०८३ २०:३८ शनिबार


-600x400.jpg)


