३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

‘नेपो बेबी’ प्रवृत्तिले समाजमा घृणा फैलायो, हामी असभ्य भीड बन्दैछौं: ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो बेबी’ जस्ता प्रवृत्तिले समाजमा घृणा र असहिष्णुता फैलाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले यस्ता गतिविधिले समाजलाई असभ्यतातर्फ धकेलिरहेको र बालबालिकामाथि क्रूर मानसिक आक्रमण भइरहेको बताए।

शनिबार पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘यो कस्तो समाज हो ? यो सभ्य समाज हो कि असभ्य, आततायीहरूको जमात, भिड हो ? यो क्रोध हो, आवेग हो, घृणाको राजनीति हो।’

उनले थपे- ‘बाउआमाले प्यारो गरे, काखमा लिए होलान्, कोक्रोमा राखेर हल्लाए होलान्, झुलाए होलान्, माया गरेर हुर्काए, नेपो बेबी भनियो।’

उनले यस्तो प्रवृत्तिले निर्दोष बालबालिकाको मनोविज्ञानमाथि गम्भीर असर पारिरहेको बताए।

‘बालबालिकाहरूलाई त्रसित बनाइएको छ। कलिलो बाल मस्तिष्कमाथि यति क्रूर, यति नृशंस आक्रमण भएको छ नेपो बेबी भनेर,’ उनले थपे।

यस्ता कारणले बालबालिकाहरू विद्यालय जान डराउने र समाजमा घुलमिल हुन नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

अध्यक्ष ओलीले समाजमा मानवीय संवेदना र मूल्यमान्यताहरू हराउँदै गएकोमा पनि चिन्ता व्यक्त गरे। उनले भने, ‘मानवीय मूल्य, मान्यता, संवेदना जस्ता कुराहरू छोड्दै गए, जेसुकै गर्न पनि हुने, विध्वंसात्मक क्रियाकलाप गर्न उद्यत हुने जस्ता प्रवृत्तिहरू भए।’

उनले चाडपर्वहरू केवल मनोरञ्जनका लागि नभई सामाजिक सुप्रबन्ध, एकता र मानवीय मूल्यमान्यता स्थापित गर्नका लागि भएको बताए।

भाइटीकाको उदाहरण दिँदै उनले भने, ‘दिदी मान्ने, बहिनी मान्ने, दाजु मान्ने, भाइ मान्ने र त्यो सम्बन्धलाई जीवनपर्यन्त कायम राख्ने, यो सामाजिक सुप्रबन्ध, सामाजिक सद्भाव, सब चिजका लागि असाधारण महत्वको छ।’ तर अहिले समाजमा यस्ता असल परम्परालाई बिर्सेर विनाशकारी र फाटोवादी संस्कृति हाबी हुन खोजेको उनको टिप्पणी थियो।

उनले समाजलाई सही बाटोमा डोर्याउन कानुनले मात्रै नसक्ने बताउँदै सामाजिक मूल्य, मान्यता र असल परम्पराको पालना हुनुपर्नेमा जोड दिए।

‘समाजले मूल्य, मान्यता र परम्पराहरूको पालना गर्न छोड्यो भने कानुनले मात्रै केही गर्न सक्दैन,’ उनले भने।

प्रकाशित: १ कार्तिक २०८२ १६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App