२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै ठूलो धर्म हो: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन्।

रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले सहकार्य, सद्भाव र सहिष्णुताले मानिसलाई असल मार्गमा हिँड्न प्रेरित गर्ने बताए। ‘यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरुप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो,’ उनले भने, ‘निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने मलाई लाग्दछ।’

बदलिँदो विश्व परिवेशमा शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता अझ बढी सान्दर्भिक हुँदै गएको उनको भनाइ थियो। समाजसेवा, मानवता र शान्तिको अभियानमा रोटरीको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यो संस्था सेवा, मित्रता र सद्भावमा आधारित एउटा विश्वव्यापी अभियान भएको र यसका सदस्यहरू समाज रूपान्तरणको सत्कार्यमा सक्रिय रहेको बताए।

संयुक्त राष्ट्रसंघको चार्टर लेखनमा रोटरीले दिएको योगदान सदैव स्मरणीय रहेको स्मरण गर्दै राष्ट्रपति पौडेलले नेपाल र भुटानमा यस संस्थाले पुर्‍याएको बहुपक्षीय योगदानको चर्चा गरे।

‘पोलियो उन्मूलन र भविष्यका नेतृत्वकर्ता निर्माण गर्न प्रतिभाशाली युवाहरूलाई प्रत्येक वर्ष पूर्ण छात्रवृत्ति प्रदान गर्नेसहित नेपाल र भुटानमा रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समुदाय विकासका क्षेत्रमा दिएको योगदान उदाहरणीय छ,’ उनले थपे।

शीतल निवासमा आयोजित उक्त समारोहमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १४ जना पूर्व डिस्ट्रिक गभर्नर तथा रोटरी क्लबका संस्थापक अध्यक्षहरूलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए।

प्रकाशित: १६ असार २०८३ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App