२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय झन्डा प्रयोगमा कांग्रेसको पाँच बुँदे परिपत्र

नेपाली कांग्रेसले राष्ट्रिय झन्डाको प्रयोगलाई लिएर मातहतका पार्टी समितिहरूलाई पाँच बुँदे परिपत्र जारी गरेको छ। गृह मन्त्रालयले राष्ट्रिय झन्डाको अनुचित प्रयोग भएमा कारबाही हुने भन्दै विज्ञप्ति निकालेपछि कांग्रेसले पार्टीभित्र औपचारिक निर्देशन दिएको हो।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले सोमबार प्रदेश  कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय समितिसहित सम्पूर्ण पार्टी निकायलाई परिपत्र पठाएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। 

परिपत्रमा निर्वाचन आचारसंहिता अनुसार चुनावी प्रचारप्रसारका क्रममा १० वटासम्म मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न निर्देशन दिइएको छ। साथै, राष्ट्रिय झन्डा व्यक्तिको शिरभन्दा माथि हुने गरी सम्मानपूर्वक फहराउनुपर्ने उल्लेख गरिएको छ।

कांग्रेसले उम्मेदवार वा प्रचारकले राष्ट्रिय झन्डा शरीरमा ओढ्ने, पाखुरा, कम्मर वा घाँटीमा मफलर वा ज्याकेटझैँ बेर्ने कार्यलाई आचारसंहिता तथा राष्ट्रिय सम्मान विपरित हुने भन्दै यस्ता गतिविधि नगर्न र गर्न नदिन निर्देशन दिइएको छ।

परिपत्रमा झन्डा झुकाउने प्रचलन मृत्युपछि शोकको अवस्थामा मात्र हुने तथ्यलाई समेत ध्यान दिन आग्रह गरिएको छ। साथै कार्यक्रम स्थल, प्रचार कार्यालय वा सवारी साधनमा राष्ट्रिय झन्डा फहराउँदा पार्टीको झन्डा र चुनाव चिह्नभन्दा माथि फहराउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: १३ माघ २०८२ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App