नेपाली कांग्रेसले पार्टीभित्र नीति निर्माण, अनुसन्धान र वैचारिक बहसलाई व्यवस्थित बनाउन सात विषयगत उपसमिति गठन गरेको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान बैठकले विभिन्न सामाजिक, आर्थिक र नीतिगत क्षेत्र समेट्दै उपसमितिहरू निर्माण गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी थिए। बैठकले अर्थतन्त्रदेखि जलवायु परिवर्तन, युवा पुस्ता, श्रमिक, बालअधिकार र सार्वजनिक सेवा सुधारसम्मका विषयलाई केन्द्रमा राखेर विशेषज्ञ नेतृत्व चयन गरेको छ।
पार्टीको नीति, दृष्टि तथा दीर्घकालीन योजना निर्माणसम्बन्धी उपसमितिको संयोजकमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल चयन भएका छन्। उक्त समूहले निजी क्षेत्र, सहकारी, बीमा, सेयर बजार तथा वित्तीय संरचनामाथि अध्ययन गर्ने जिम्मेवारी पाएको छ।
त्यसैगरी चलचित्र निर्देशक मीनबहादुर भामलाई ‘नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद’ उपसमितिको नेतृत्व दिइएको छ। नयाँ पुस्ता, जेन–जी र नागरिक समाजबीच संवाद विस्तार गर्ने उद्देश्यसहित यो उपसमिति गठन गरिएको बताइएको छ।
जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी, अनौपचारिक क्षेत्रका श्रमिकसम्बन्धी उपसमितिमा महेन्द्र यादव, बालअधिकार उपसमितिमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहसम्बन्धी उपसमितिमा गोपालप्रसाद पोखरेल तथा गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिमा अञ्जु झा चयन भएका छन्।
बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। यसअघि चयन भइसकेका संयोजकहरूले आफ्नो अवधारणा प्रस्तुत गरेको बैठकले नयाँ संयोजकहरूलाई आगामी बैठकमा प्रारम्भिक कार्ययोजना पेश गर्न निर्देशनसमेत दिएको छ।
कांग्रेसले पछिल्लो समय संगठनात्मक राजनीतिसँगै नीतिगत बहस र अनुसन्धानलाई पनि संस्थागत बनाउने प्रयास थालेको रूपमा यो कदमलाई हेरिएको छ।
प्रकाशित: १४ जेष्ठ २०८३ १३:३१ बिहीबार





