नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलामा पाँचवटा प्रस्ताव पारित गरिएको छ। भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय पनि भेलाले गरेको छ।
वर्तमान असहज परिस्थितिमा राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै लोकतन्त्रवादी शक्तिसँग संवाद गर्दै अघि बढ्ने प्रस्तावसमेत पारित गरिएको छ।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ। हिन्दु, बौद्ध, किराँत तथा प्राकृत धर्मको संरक्षण गर्ने दायित्व आत्मसात् गर्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव सुनिश्चित गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ। सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा स्थापित गर्दै अघि बढ्ने निर्णय भेलाले गरेको हो।
त्यस्तै, वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता तथा जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संवैधानिक संशोधनका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३१ श्रावण २०८३ १४:३७ आइतबार



-600x400.jpg)

