३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनको काँधमा चढेर देशलाई अँध्यारो युगमा फर्काउने प्रयास भयो : डा भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनको काँधमा चढेर देशलाई पुनः अँध्यारो युगतर्फ फर्काउने प्रयास भएको बताएका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले जेनजी युवाहरूको आन्दोलनलाई प्रयोग गरेर देशलाई पुनः अँध्यारो युगतर्फ फर्काउने र त्यसपछि अन्त्यहीन द्वन्द्व सिर्जना गरी नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि नै धावा बोल्ने कुत्सित मनसाय विभिन्न ढंगले अभिव्यक्त हुन थालेको बताएका छन्। 

उनले लामो बलिदानी र संघर्षपछि संविधानसभाबाट पहिलोपटक बनेको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू एकढिक्का भएर उभिनुपर्ने समय आएको बताएका हुन्।  

‘यस्तो बेला संविधानसभाबाट बनेको संविधानका पक्षधर र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू चट्टानझैँ एकढिक्का भएर उभिनुपर्नेमा सबैले आ–आफ्नै डम्फू बजाउन थाल्नु विडम्बनापूर्ण छ,’ भट्टराईले भनेका छन्। 

भट्टराईले नेपाली कांग्रेसको एक पक्षको राष्ट्रिय भेलाबाट पारित सार्वजनिक प्रस्तावमा कांग्रेसका विगतका प्रतिबद्धता र निर्णयबाट पछि हट्न खोजेको भन्दै चिन्ता व्यक्ति समेत गरेका छन् । साथै उनले  सार्वजनिक प्रस्तावमा आफ्नै प्रतिवद्धता र निर्णयहरूबाट पछि हट्न खोजेको र एकजना वरिष्ठ नेताले अत्यन्त अस्वाभाविक ढंगले ‘धर्म भाकेको’ प्रसंगले ‘दालमा केही कालो’ भएको भन्दै  चिन्ता व्यक्त गरेका छन्। 

साथै उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई नेपालको संविधानका आधारभूत स्तम्भका रूपमा व्याख्या गरेका छन्। 

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र नेपालको संविधानरूपी खाटका चार खुट्टा हुन्। तीमध्ये कुनै एक खुट्टा भाँचिँदा पूरै खाट ढल्न सक्छ,’ उनले भनेका छन्। 

जेनजीसहित सबै युवाको सुशासन र समृद्धिको सपना संविधानका आधारभूत स्तम्भको सहयोगमा मात्रै सम्भव हुने भन्दै पुरानो अँध्यारो युगमा फर्केर वा अर्को नयाँ द्वन्द्व सिर्जना गरेर युवाको सपना पूरा हुन नहुने हुँदा सबै प्रबुद्ध युवाला राजनीतिक घटनाक्रमप्रति सतर्क रहन पनि आग्रह गरेका छन्।  

प्रकाशित: ३१ श्रावण २०८३ १७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App