३१ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

खेलकुद पद वितरण विवाद : छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषद्का सदस्य सचिव सक्रिय

गण्डकी खेलकुद परिषद् (गखेप) को पद वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा सक्रिय भएका छन्। मन्त्रीस्तरीय निर्णयका आधारमा गत साउन २४ गते गठन भएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.शेषनारायण पौडेल नेतृत्वको तीन सदस्यीय छानबिन समितिले पद वितरणको समग्र अवस्थाबारे छानबिन गरिरहेको बेला सदस्य सचिव शर्मा छानबिन प्रभावित पार्न लागिपरेका हुन्।

पहिलो पटक दिइएको साउन २९ गतेसम्मको समयावधिमा छानबिन नसकिएपछि तीन दिन थपेर गण्डकी खेलकुद परिषद्का कार्यकारिणी सदस्यहरूसँग बयान लिने क्रम चलिरहेका बेला सदस्य सचिव शर्माले चलखेल सुरु गरेका छन्। उनले बयानमा जाने सदस्यहरूलाई आफूलाई बचाउने गरी बयान दिन आग्रह गर्दै फोन र म्यासेज गरेको पाइएको छ। फोनमार्फत आफूलाई फसाउने गरी बयान नदिन आग्रह गरेका एक सदस्यले जानकारी दिए।

उनले भने, ‘हिजोको गल्तीलाई लिएर छानबिन भइरहेको छ। गल्ती पुष्टि हुने गरी हजुरहरूले बोलिदिनु भएन। म के बोल्ने म्यासेजमा पठाउँछु, सोहीअनुसार बोलेर बचाइदिनु पर्यो।’

उनको सो आग्रहपूर्ण फोनलगत्तै ह्वाट्सएपमा म्यासेज पठाएको पाइएको छ। जसमा उनले पद वितरण कार्यविधिअनुसार नै भएको जिकिर गरेका छन्। फोनमा आफूलाई बचाउने गरी बयान दिन आग्रह गरेका उनले म्यासेजमा भने कार्यविधिअनुसार नै पद सिफारिस समिति बनेको, पद सिफारिस समितिको बैठक नियमित बसेर उपयुक्त पात्रहरूलाई पद दिने निर्णय भएको र सोही निर्णयका आधारमा पद वितरण भएको भन्दै पठाएको अर्का एक सदस्यले बताए।

सिफारिस समितिका ती सदस्यले भने, ‘हामीले बैठकमा थाहा नपाएका कुरा अहिले सदस्य सचिवले पठाएको म्यासेजबाट थाहा पाएका छौँ। जुन म्यासेजअनुसार बयान दिन हामीलाई भनिएको छ।’

तर सदस्य सचिवको आग्रहका बाबजुद ती सदस्यहरूले उनीअनुकूल बयान नदिएको बुझिएको छ। निर्णय प्रक्रियाबारे आफूहरूलाई जानकारी नदिइएको र मिलेमतोमा पद वितरण भएकोप्रति असन्तुष्टि जनाउँदै बयान दिएको स्रोतले बताएको छ। एक सदस्यले भने, ‘हामी पनि सदस्य सचिवलाई बचाउने पक्षमा छैनौँ, किनकि उनी कानुनको विद्यार्थी हुन् भनिए पनि जालझेल गर्न खोजिरहेका छन्। उनको कारणले हामीले पनि दुःख पायौँ।’

साउन २९ गतेसम्म रहेको छानबिन समितिको म्याद तीन दिन थपेर भदौ १ गतेसम्म पुर्‍याइएको छ। समितिले प्रमाणहरू मागेर अध्ययन गर्नुका साथै निर्णय प्रक्रियामा रहेका तथा पद सिफारिस समितिमा रहेका व्यक्तिहरूसँग लिखित तथा मौखिक बयान लिएको छ।

अहिले भने प्रतिवेदन लेख्ने काम भइरहेको छ। छानबिन समितिका संयोजक तथा मन्त्रालयका सचिव डा। शेषनारायण पौडेलले जानकारी दिँदै भने, ‘छानबिनको काम सकिएको छ। हामी अहिले प्रतिवेदन लेखनको अन्तिम चरणमा छौँ।’

गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मामाथि सेटिङमा पद वितरण गरेको आरोप लागेको छ। उनले पद सिफारिस समितिको निर्णयविपरीत पद वितरण गरेको, आफ्ना मान्छेलाई पद दिएको तथा कार्यविधिविपरीत पदसँगै रकमसमेत वितरण गरेकोलगायतका आरोप लागेका छन्।

प्रकाशित: ३१ श्रावण २०८३ १८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App