नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशन तथा संगठनात्मक तयारीबारे कार्यवाहक सभापतिलाई चारवटा वैकल्पिक प्रस्ताव पेश गरेका छन्।
शर्माले प्रस्तुत गरेका प्रस्तावहरूमा पार्टीको विधान, समयसीमा र संगठनात्मक आवश्यकता अनुसार महाधिवेशन आयोजनाका फरक–फरक विकल्प समावेश छन्।
पहिलो विकल्पका रुपमा शर्माले महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७ देखि २९ गतेसम्मको कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरी पारित गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सभापतिज्यूले जुन उचाइबाट हेर्नुभयो, हामीले त्यो पछ्याउँ, व्यक्तिगत वा समूहगत आग्रहभन्दा माथि उठेर काम गरौं।’
दोस्रो विकल्पका रुपमा उनले विशेष महाधिवेशनलाई राखेका छन् । उनले भनेका छन्, ‘यदि मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्न समय अपर्याप्त ठहर भए, भने पार्टी विधानको धारा १७ (२) बमोजिम ‘केन्द्रीय समितिले चाहेमा’ विशेष महाधिवेशन मंसिर मसान्तभित्रै बोलाउने।’
त्यस्तै तेस्रो विकल्प विधानको दफाअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको लिखित माग आएमा मंसिर मसान्तभित्रै विशेष महाधिवेशन आयोजना गर्ने छ ।
अनि चौथो विकल्प चाहिँ माथिका विकल्पहरूमा सहमति जुट्न नसके, नियमित महाधिवेशनलाई नै प्राथमिकता दिँदै समय विस्तार गर्ने र पुष १६ देखि १९ गतेसम्म आयोजना गर्ने उल्लेख छ ।
शर्माले भनेका छन्, ‘पुष १६ ऐतिहासिक दिन हो । जननायक बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको मिति।’
बैठक तयारीका लागि निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मसौदा समिति गठन, महाधिवेशन तयारीसम्बन्धी अन्य उपसमिति गठन लगायतका प्रस्ताव शर्माका छन् ।
त्यस्तै महामन्त्री शर्माले फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा भनेका छन्, ‘संवैधानिक प्रश्नको निरूपण सर्वोच्च अदालतले गर्नेछ, त्यसपछि ठोस टुंगो लाग्नेछ। अन्तिम निर्णयको प्रतीक्षा गर्दै फागुन २१ को तयारीमा पार्टी लाग्ने निर्णय गर्नुपर्छ।’
महाधिवेशन प्रतिनिधि चयनसँगै प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले कम्तीमा एक महिला सहित तीन जना उम्मेदवारको नाम फागुन २१ का लागि सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट सिफारिस गर्ने प्रस्ताव राखिएको छ।
पार्टीलाई राष्ट्रिय राजनीतिमा सही ट्र्याकमा ल्याउन सबै राजनीतिक दलहरूसँग संवाद सुरु गर्ने तयारीसहित जेन-जी युवाहरूसँग संवादका लागि तीन सदस्यीय कार्यदल गठन गर्न पनि शर्माले सुझाएका छन् ।
प्रकाशित: १३ कार्तिक २०८२ १४:४७ बिहीबार




-600x400.jpg)
