३१ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस १५ औं महाधिवेशन: ६ हजार ५२८ प्रतिनिधि चयन हुने, वडा अधिवेशनको तयारी पूरा

नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनका लागि कुल ६ हजार ५२८ प्रतिनिधि चयन हुने भएका छन्।

ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय सभापति र पालिका सभापतिसहित सो सङ्ख्यामा प्रतिनिधि चयन हुने अनुमान गरिएको जानकारी दिए।

कांग्रेसको विधानअनुसार ५ हजार ४४५ महाधिवेशन प्रतिनिधि, ३३० प्रदेशसभा क्षेत्रीय सभापति र ७५३ पालिका सभापति चयन हुनेछन्।

यसमा विदेशस्थित नेपाली जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट चयन हुने प्रतिनिधिसमेत थपिने सदस्यसचिव कटुवालले बताए।

यसैबीच, महाधिवेशन प्रक्रियाअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ।

सदस्यसचिव कटुवालले पार्टीमा आबद्ध सम्पूर्ण नेता तथा कार्यकर्तालाई वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेका छन्।

कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमअन्तर्गत हालसम्म ८ लाख ७० हजार जनाको नामावली प्राप्त भइसकेको जानकारी पनि उनले पत्रकार सम्मेलनमा दिए।

प्रकाशित: ३१ भाद्र २०८३ १७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App