१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

खेती

लघुकथा

१) खेती

एक चिया पसलमा साहित्यिक मित्रहरूको भेटघाट कार्यक्रम थियो।

“चर्चामा आएका सबै कृति असल हुँदैनन्।” नवदीपले आफ्नो कुरा राखे।

“अहिलेकी चर्चित लेखक सुलक्षणाको उपन्यास ‘अँध्यारो गुफा’ कस्तो लाग्छ त?” विवेकमानले कुरा राखे।

“बजारमा हल्ला धेरै छ। कृतिको सन्देश भने समाजविरोधी छ।” मैले भनेँ।

“त्यस्तो कलात्मक दृष्टिले उच्च रहेको कृतिको बारेमा तपाईंको दृष्टिकोण मन परेन मलाई।” विवेकमानले मुख बिगारे।

“तपाईं त्यो कृति र कृतिकारको बारेमा धेरै नै चासो राखिरहनुभएको छ। के कारण होला?” सुन्दरले जिज्ञासा प्रकट गरे।

“म आबद्ध प्रकाशन संस्थाबाट प्रकाशित भएको पुस्तक भएकाले मैले त्यसको बारेमा बजारमा के कस्तो प्रतिक्रिया छ? बुझ्न चाहेका हुँ।” विवेकमान रक्षात्मक देखिए।

“तपाई आबद्ध प्रकाशन गृहबाट त धेरै पुस्तक प्रकाशित हुन्छन्, ती किताबको बारेमा त बोल्नु हुन्न। यसै पुस्तकको बारेमा तपाईंको बढी नै चासो पाइयो त?” मैले उनको कमजोरी खोतल्ने प्रयास गरेँ।

“साँचो कुरा जान्न चाहनुहुन्छ?” विवेकमानलाई अब असह्य भइसकेको थियो।

“अवश्य।” मैले भनेँ।

“यो पुस्तकमा मेरो श्रम परेको छ।”

“कस्तो श्रम?” नवदीप बोले।

“यस कृतिमा लेखकको नाम जसको भए पनि पर्दाभित्रको लेखक, सम्पादक म नै हुँ।” रहस्य खोले विवेकमानले।

“आजभोलि यस्तो खेतीमा लाग्नुभएको रहेछ। हामीलाई के थाहा? त्यसैले त प्रतिक्रिया बुझ्न खोज्नुभएको रहेछ।” नवदीपको आवाज सुनियो।

“अनि यस्तो छाडा कृति लेख्ने हो त?”

“प्रकाशक अनि लेखकसँगको सम्झौता अनुसार काम गर्नुपर्छ। बजारको मागलाई हेर्नुपर्छ। मेरो निजी छनौटको कुनै अर्थ रहँदैन त्यहाँ।” विवेकमानको अनुहारमा सहजता थियो।

२) सम्मान

“हजुर जस्ता वरिष्ठ स्रष्टाको आगमनले हाम्रो कार्यक्रमको शोभा बढ्ने थियो। हामी धन्यधन्य हुने थियौंं।” एक हप्तादेखि फेसबुक मेसेन्जरमा निरन्तर आइरहेको सन्देशले दिमागको घण्टी बजाइसकेको थियो।

कार्यक्रमको बारेमा कुनै सोधपुछबिना कार्यक्रमस्थलमा पुगियो। डाक्टरकहाँ जाने कार्यक्रम चार दिन पर सारेर कार्यक्रमस्थलमा पुगियो।

म कार्यक्रममा पुग्दासम्म प्रारम्भको तरखर थियो।

कार्यक्रमको आरम्भमा विमोचन हुने पुस्तक, “म र मेरा शाखासन्तान” संस्मरण पुस्तककी लेखकका नातागोता र केही गाउँलेलाई मञ्चमा राखेर आसन ग्रहण गराइयो।

आयोजक संस्थाका अध्क्षयले “मेरा पनि मानिस” भन्दै केही असाहित्यिक मानिसलाई मञ्चमा राख्न लगाए।

शुभकामना कार्यक्रम आरम्भ भयो। वक्ताहरूमा आफन्त र साथीभाइ थिए।

“जनमभर घरपरिवारको भारी बोकेकी हाम्रो कोकिलादेवीले यत्रो बूढेसकालमा आएर ठूलो धमाका गरिन्। सानोतिनो काम हो र! किताब पो छापिन्, किताब।”

एक शुभकामना दिने मानिसले मन्तव्य दिँदा घोस्ट राइटर मञ्चको एक कुनामा बसेर मुसुमुसु हाँस्दै ताली पिट्दै थियो।

कार्यक्रमभर स्तुतिगान चलिरह्यो। कार्यक्रमको अन्त्यमा उनलाई सम्मान गरियो।

कार्यक्रमको खाजा खाएर ढोका बाहिर पुगेको के थिएँ, दुई जना मानिसको वाणी सुनियो।

“कति गोजी खाली गर्‍यौ बूढीका घरपरिवारको?” एक मानिस बोल्यो।

“धेरै होइन, पाँच लाखमा तय भयो। लेखन, सम्पादन, प्रकाशन, कार्यक्रम सबैको खर्च जोडेर पाँच लाख लिएँ।”

आवाज परिचित लागेपछि यसो पछाडि फर्केर हेरेँ, अघि मञ्चमा बस्ने घोष्ट राइटर र उसको साथी रहेछन्।

प्रकाशित: १५ कार्तिक २०८३ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App