नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको आलोचना गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाएको बताएका हुन्।
उनले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्ता अतिक्रमित भूभागबारे विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा कुरा उठाउने गरेको भए पनि यसपालि प्रधानमन्त्री शाह मौन बसेको बताए।
सन् १९५० को असमान सन्धि पुनरवलोकनका विषयमा विगतका प्रधानमन्त्रीहरूले भारत भ्रमणमा कुरा राख्ने गरेको र भारतले समेत स्वीकारेको स्मरण गराउँदै रावलले यसपटक उक्त विषय प्रवेश नै नगराइएको आरोप लगाए।
प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले नबुझ्ने भनिसकेको सन्दर्भ उल्लेख गर्दै उनले यसको कारणबारे नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट पार्नुपर्ने माग गरे।
भारतबाट साढे दुई खर्ब सहयोग प्राप्त भएको प्रचार गरिए पनि त्यसमा ५६ अर्ब रुपैयाँ मात्र अनुदान रहेको र बाँकी सबै ऋण भएको रावलले उल्लेख गरे। प्रहरी, कर्मचारी र कृषि क्षेत्रमा भारतले तालिम दिने गरी सम्झौता गरिएको भन्दै उनले विरोध जनाए।
रावलले भारतीय वस्तु बेरोकतोक नेपाल भित्रिने तर नेपाली चिया, जुटलगायत उत्पादनले भारत प्रवेश पाउन अनेक झन्झट व्यहोर्नुपरेको बताए। भ्रमणका क्रममा यस्ता व्यापारिक अवरोध हटाउन कुनै समाधान नखोजिएको उनको भनाइ थियो।
कार्यक्रममा उनले २००७ सालपछि बाह्य शक्तिको चलखेलका कारण नेपाल प्रयोगशालाजस्तो बन्दै आएको टिप्पणीसमेत गरे।
प्रकाशित: १० मंसिर २०८३ १८:५७ बिहीबार





