नेपाली सेनाले निर्वाचनमा कानुन विपरित भए सह्य नहुने बताएको छ । सिन्धुलीस्थित भवानी बक्स गणका मेजर सुनिल थापाले भने, 'नेपाली सेनाको सशक्त उपस्थितिले कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, धम्की वा निर्वाचन बिथोल्ने प्रयासप्रति स्पष्ट सन्देश दिएको छ ।'
नेपाली सेनाले सुरक्षा निकायहरूबीचको प्रभावकारी समन्वय, सूचना आदान–प्रदान र संयुक्त कार्ययोजनाअनुसार गस्ती सञ्चालन भइरहेको र समग्र सुरक्षा चक्रलाई मजबुत बनाएको दाबी गरेको छ ।
आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउने राष्ट्रिय दायित्वअनुसार नेपाली सेनाले सिन्धुली जिल्लाका विभिन्न संवेदनशील तथा दुर्गम क्षेत्रमा आफ्नो दृढ तथा प्रभावकारी सुरक्षा उपस्थिति प्रदर्शन गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाएको मेजर थापाले जानकारी दिए । निर्वाचनको समग्र सुरक्षा परिवेशलाई सशक्त बनाउने उद्देश्यले सेना उच्च सतर्कता र पूर्ण तयारीका साथ परिचालित भएको नेपाली सेनाले जनाएको छ ।
विशेषगरी भौगोलिक रूपमा चुनौतीपूर्ण, सडक सञ्जाल सीमित तथा रणनीतिक दृष्टिले संवेदनशील मानिएका क्षेत्रहरूमा मोटरसाइकलमार्फत द्रुत गस्ती सञ्चालन गरिएको छ। यसले छोटो समयमा बढी क्षेत्र समेट्ने, आवश्यक परे तत्काल प्रतिकार्य गर्ने तथा शंकास्पद गतिविधिमाथि प्रभावकारी निगरानी राख्ने क्षमता अभिवृद्धि गरेको छ। मतदान केन्द्र आसपास, दुर्गम गाउँ–बस्ती तथा मुख्य सडक खण्डहरूमा नियमित मोबाइल पेट्रोलिङ तीव्र बनाइएपछि सर्वसाधारणमा निर्वाचनप्रति विश्वास र ढुक्कताको भावना बलियो बनेको सेनाको बिस्वास छ ।
सेनाले आकस्मिक अवस्था, प्राकृतिक विपद् वा अप्रत्याशित परिस्थितिमा तत्काल उद्धार तथा प्रतिकार्य गर्न सक्ने तयारीसमेत कायम राखेको छ ।
नेपाली सेनाले सम्पूर्ण मतदातालाई निर्धक्क, निडर र स्वतन्त्ररूपमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै निर्वाचन सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गराउन पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित: ४ फाल्गुन २०८२ २०:०७ सोमबार


-600x400-wm.jpg)


