आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लड्न नेपालगन्ज उपमहानगरपालिकाका उप–मेयर कमरुद्धिन राईले राजीनामा दिएका छन्। राईले उम्मेदवार मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा सोमबार पदबाट राजीनामा दिएका हुन्। आफू प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बन्ने निश्चित भएपछि राजीनामा दिएको राईले बताए।
‘क्षेत्र नम्बर २ मा हाम्रो पार्टीले मलाई उम्मेदवार बनाइसकेको छ, प्रतिनिधिसभा उम्मेदवारको टिकट पाइसकेपछि राजीनामा दिएको हुँ,’ उनले नागरिकसँग भने। राजीनामा पत्र उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई आफूले बुझाइसकेको राईले बताए।
उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव हुन्। २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट उपमेयरमा निर्वाचित भएका थिए। उक्त निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन बनेको थियो। जसपा नेपालले बाँके क्षेत्र नम्बर २ मा राईलाई उम्मेदवार बनाए पनि क्षेत्र नम्बर १ र ३ मा भने अझै टुंग्याउन सकेको छैन।
पार्टीका केन्द्रीय सचिव राईका अनुसार क्षेत्र नम्बर १ मा ईसरत अलिमुकेरी र राजेन्द्र बिश्वकर्मा तथा क्षेत्र नम्बर ३ मामोलहे हरिजन र बाबु खाँ पठानबीच कसले टिकट पाउने भन्ने प्रतिस्पर्धा छ। ‘क्षेत्र नम्बर १ र ३ को टुंगो लगाउनआज राति छलफलमा बस्ने कुरा भएको छ, रातिसम्म दुवै क्षेत्रको उम्मेदवार टुंगो लाग्छ,’ राईले भने।
प्रकाशित: ६ माघ २०८२ ०७:२७ मंगलबार





