७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संयोजक बममाथिको दुर्व्यवहार अस्वीकार्य : प्रश्नको उत्तर राज्यसँग खोज्न जेन-जी फ्रन्टको माग

नेपाल जेन-जी फ्रन्टले संयोजक तथा जेन जी अभियन्ता रक्षा बममाथि दुर्व्यवहार भएको घटनाप्रति घोर भर्त्सना गरेको छ।  

फ्रन्टले शुक्रबार एक विज्ञप्ति जारी गरेर शान्तिपूर्ण प्रदर्शनका क्रममा आफ्नी संयोजकमाथि गरिएको व्यवहार अस्वीकार्य भएको जनाएको हो। विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला हुने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरिरहेका आन्दोलनकारीमाथि भएको यस्तो घटना लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गरिएको छ।

माइतीघर मण्डलमा बिहीबार आन्दोलनमा सक्रिय रहेकी सरिस्माले जेन-जी फ्रन्टकी संयोजक बममाथि विभिन्न आरोप लगाएकी थिइन्। उनले गृहमन्त्रीसँगको सम्बन्ध, नेतृत्व, भूमिका तथा राजनीतिक पहुँचबारे प्रश्न उठाउँदै सार्वजनिक रूपमा आलोचना गरेकी थिइन्। 

भदौ २३ र २४ गतेका घटनाबारे गठन गरिएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विभिन्न जेन-जी समूहले माइतीघरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। संगठनले उक्त प्रतिवेदन सार्वजनिक गर्नु शहीद र घाइतेप्रतिको दायित्व भएको जनाएको छ।  

विज्ञप्तिमा आन्दोलनका क्रममा देखिने असहमति र प्रश्नलाई स्वाभाविक मानिए पनि एकअर्कामाथि दुर्व्यवहार हुनु अनुचित भएको जनाएको छ। प्रश्नहरूको उत्तर आन्दोलनकारीबीच नभई राज्यसँग खोजिनुपर्ने विज्ञप्तिमा भनिएको छ। 

संगठनले रक्षा बमलाई आन्दोलनको सुरुवातदेखि नै सक्रिय, प्रतिबद्ध र सिद्धान्तनिष्ठ नेतृत्वका रूपमा चित्रण गर्दै उनीमाथि भएको व्यवहारले आन्दोलन कमजोर पार्ने चेतावनी दिएको छ।  

प्रकाशित: ६ चैत्र २०८२ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App