नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
सन्देशमा सभापति थापाले भनेका छन्, ‘नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो। तत्पश्चात् वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो। यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ।’
उनले अगाडि भनेका छन्, ‘नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ। नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो।’
थपाले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन्।
प्रकाशित: १५ जेष्ठ २०८३ १०:१६ शुक्रबार





