परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् ।
विद्यार्थी बसाइँसराइ नीति, आकांक्षा र विश्वव्यापी गतिशीलता सम्बन्धी सेमिनारमा उनले पछिल्लो समय प्लस-टु पछि विदेश जाने विद्यार्थीलाई रोक्ने गरी ल्याउन खोजिएका प्रतिबन्धात्मक नीतिहरूले समस्याको समाधान नगर्ने बताएका हुन् ।
खनालले भने, ‘हामीले यो विषयलाई अत्यन्तै मिहिन ढंगले हेरिरहेका छौं । सिक्नका लागि आफ्नो स्थान छोडेर बाहिर जाने परम्परा हाम्रो सभ्यता र संस्कृतिको अभिन्न अङ्ग हो ।’ उनले वर्तमान प्रधानमन्त्री भारतमा पढेको र अर्थमन्त्रीसँग अमेरिका, बेलायत र अस्ट्रेलियाका डिग्री रहेको उदाहरण दिँदै राज्यका उच्च पदस्थ व्यक्तिहरूको प्रोफाइलले नै वैदेशिक शिक्षाको महत्त्व झल्काउने बताए ।
खनालले परराष्ट्र मन्त्रालय र सरकारी संयन्त्रभित्र प्लसटु पछि विदेश जान रोक लगाउने गरी भइरहेका छलफलप्रति असहमति जनाए । ‘के प्रतिबन्ध नै सही विकल्प होरु वा विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्ने भन्नेतर्फ सोच्ने ?’ भन्दै उनले प्रश्न गरे ।
नेपाली सार्वजनिक प्रशासनमा रहेको ‘घमण्ड’ का कारण विदेशमा पढेका र नयाँ सोच भएका युवाहरूलाई प्रणालीभित्र छिर्न गाह्रो भएको उनको सुनाए । ‘लोकसेवा पास गर्नुलाई मात्र सर्वोपरि ठान्ने हाम्रो प्रणालीले नयाँ युवा र नवीन सोचलाई इन्टर्नसिपको समेत मौका दिँदैन,’ उनले भने । उनले आफ्नै पहलमा विदेशमा पढिरहेका नेपाली विद्यार्थीहरूलाई नेपालका सरकारी निकायमा इन्टर्नसिप गराउने कार्यक्रमको तयारी भइरहेको जानकारी समेत दिए ।
प्रकाशित: १५ वैशाख २०८३ १५:४२ मंगलबार





