नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल अहिले राजनीतिक तथा वैचारिक रूपमा जटिल मोडमा पुगेको भन्दै राष्ट्रियता, लोकतान्त्रिक उपलब्धि र वामपन्थी आन्दोलनमाथि गम्भीर चुनौती देखा परेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुक असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरे।
उनले पछिल्लो राजनीतिक प्रवृत्तिले लोकतान्त्रिक मूल्य र संस्थामाथि दबाब सिर्जना गरिरहेको दाबी गर्दै पपुलिजम, अराजकतावाद (एनार्किजम) र चरम दक्षिणपन्थी सोचको आधारमा निर्वाचित अधिनायकत्वतर्फ देशलाई लैजान खोजिएको आरोप लगाए।
ज्ञवालीका अनुसार अहिलेको परिस्थितिले राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार र लामो संघर्षपछि स्थापित लोकतान्त्रिक अभ्यासमाथि एकैसाथ प्रश्न खडा गरिरहेको छ।
उनले विद्यार्थी अधिकारमा संकुचन आएको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाए। साथै, सुकुम्वासीहरूको अवस्था झन् जटिल बन्दै गएको उल्लेख गर्दै देश समग्र रूपमा असाधारण संकटतर्फ उन्मुख भइरहेको टिप्पणी गरे।
ज्ञवालीले यस्तो अवस्थामा देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच नयाँ ढङ्गले सहकार्य र समीकरण आवश्यक रहेको धारणा राखे।
प्रकाशित: ३ असार २०८३ १६:४८ बुधबार





